
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कटहरिया नगरपालिका, रौतहटका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहसहित सहायक लेखापाल विवेक कुमार सहनी, सहायक स्तर पाँचौं राम नरेश प्रसाद यादव, सहायक कम्प्युटर अपरेटर उमेश कुमार दास, खरिदार कौशल किशोर चौधरी र छोटेलाल मिश्रविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
साथै आयोगले सरिता फाउण्डेसन काठमाडौं र फाउण्डेसनकी निर्देशक सरिता कुमारी साहलाई पनि विपक्षी बनाएको छ। उनीहरूविरुद्ध जनही ९ लाख ९८ हजार ९२१ रुपैयाँ बराबरको विगो माग गरिएको छ।
अधिकारिक विवरणअनुसार, आर्थिक वर्ष २०७७/०७८ मा नगरसभाबाट बजेट स्वीकृत नगराई सरिता फाउण्डेसनको नाममा पाँच लाखको चेक काटी मिलेमतोमा रकम हिनामिना गरिएको उजुरीमा आधारित रहेर अनुसन्धान भएको थियो।
अनुसन्धानबाट पत्ता लागेको छ कि प्रतिवादीहरूले सरकारी रकम ९ लाख ९८ हजार ९२१ रुपैयाँ भुक्तानी लिइ/दिइ हिनामिना गरी भ्रष्टाचार गरेका थिए। अख्तियारले सोही रकम बराबरको विगो र सजाय माग गर्दै आरोपपत्र दायर गरेको छ।



कागजपत्र |
