‘पुलिस अफ द मन्थ’ भएका क्षेत्रीको अर्को सफलता, लुटिएको ‘अटोमेटिक गन’सहित तीन जना पक्राउ


काठमाडौं- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष सूचनाका आधारमा सञ्चालन गरेको अपरेसनमार्फत लुटिएको स्वचालित हतियारसहित फरार अभियुक्तलाई नियन्त्रणमा लिन सफल भएको छ। भदौ २३–२४ मा भएको जेनजी प्रदर्शनका बेला विभिन्न प्रहरी इकाइबाट लुटिएका हतियारमध्ये एक थान स्वचालित पेस्तोल लुकाएर राखिएको सूचनामाथि काम गर्दै प्रहरीले मंसिर १४ गते रसिल जोशीसहित तीन जनालाई पक्राउ गरेको हो।

काठमाडौं–१४ कलंकी घर भइ हाल बूढानिलकण्ठ–१८ भुरूङखेल बस्ने जोशीसहित दार्चुला दुहुँ–४ घर भइ हाल काठमाडौं–११ सुन्धारा बस्ने रामचन्द्र कुँवर ‘डेबिड’ र काठमाडौं–१३ बाफल बस्ने विराट प्रसाद जोशीलाई पनि पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

पक्राउ परेकामध्ये रसिल जोशी यसअघि लागुऔषध मुद्दामा प्रहरी वृत्त स्वयम्भुको हिरासतबाट फरार भएको खुलेको छ। उनीहरूबाट प्रहरीले प्रयोग गर्ने टाइप-५४  मोडलको SN 55009916 उल्लेख भएको एक थान पेस्तोल तथा दुई थान मोबाइल फोन बरामद गरिएको कार्यालयले जनाएको छ। पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ।

उक्त सफल अपरेसनमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका ६ नम्बर पिल्लरमा खटिएका प्रहरी सहायक हवल्दार हरि बहादुर क्षेत्रीको भूमिका विशेष उल्लेखनीय रहेको बताइएको छ। जोखिमपूर्ण परिस्थिति, अनिश्चित घडी र संवेदनशील लक्ष्यबीच पनि उनले प्रदर्शन गरेको चुस्त निर्णय क्षमता, कार्यकुशलता र ग्राउन्ड–कमाण्डिङ क्षमताको कार्यालयले उच्च प्रशंसा गरेको छ।

यही उत्कृष्ट योगदानका कारण क्षेत्रीलाई कात्तिक महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गरी सम्मान गरिएको थियो। सम्मान पाएको केही दिनमै उनले अर्को ठूलाे सफलता जोड्न सफल भएका हुन्।

 

प्रतिक्रिया