
काम लगाइदिन्छु भन्दै भिजिट भिषामा दुबई पुर्याएर अलपत्र पारेपछि आफ्नै टिकटमा फर्किए पीडित
काठमाडौं – काम लगाइदिन्छु भनेर भिजिट भिषामा दुबई बोलाएर अलपत्र परेपछि तीन जना नेपाल फर्किएका छन् । काभ्रे महाभारतका ३ जनालाई काम लगाइदिन्छु भनेर भिजिट भिषामा दुबई बोलाएका धादिङका रमेश परियार, चितवनकी रस्ना अर्याल नहर्की र काभ्रेका अंकित लोले अलपत्र पारेका छन् ।
काम लगाइदिने भने प्रतिव्यक्ति ३/३ लाख लाख उठाएर उनीहरुले भिजिट भिषामा एक युवतीसहित २ युवाहरुलाई दुबई बोलाए । त्यसपछि मार्केटिङको काम लगाइदिने र १८०० दिराम तलब भनेका उनीहरुलाई काम पनि नलगाइदिएको र खान पनि नदिएको भन्दै तीन युवाहरु घरबाट पैसा मगाएर नेपाल फर्किएका छन् ।
एक महिनासम्म कुनै पनि काम नपाएको र आफूहरुलाई दुबई बोलाउने परियार, अर्याल र लो सम्पर्कबिहीन भएपपछि नेपालबाट गएकाहरु दुबईमै रहेका साथीहरुसँग ऋण गरेर खाना खाएर ज्यान बचाएको बताए ।
रमेश, रस्ना र अंकितलाई सम्पर्क गर्न खोज्दा सम्पर्क नहुने, र बिचमै भिषाको म्याद पनि सकिएपछि दुबईमा गैरकानुनी हुने डरले नेपालबाट ४० हजार मगाएर आफ्नो भिषा थप गरेको पीडित विष्णुबहादुर थोकरले बताए । उनले आफूहरुलाई विदेश लगेर मार्केटिङ काम लगाइदिने र १८०० दिराम तलब हुने बताउँदै यदि भने बमोजिम नभएको खण्डमा पूरै पैसा फिर्ता दिने समेत अंकितले जिम्मा लिएका थिए ।
त्यस्तै अर्की पीडित सुनिता लामाले दुबईमा झण्डै एक महिनासम्म अलपत्र परेपछि नेपालबाट पैसा मगाएर टिकट काटेर फर्किएको बताइन् । उनले महाभारतकै अंकितसमेतको मिलेमतोमा आफूहरुलाई ठगिएको जनाउँदै क्षतिपूर्तिको मागसहित कारबाहीको माग पनि गरेकी छिन् । सुनिताका अनुसार दुबईमा लामोसमयदेखि बस्दै आएका रमेश र रस्नाले अंकितमार्फत् आफूहरुलाई दुबई बोलाएको बताइन् । यस काममा रस्ना र रमेश मुख्य व्यक्ति रहेको अंकितले रस्नाको खातामा पैसा पठाएको प्रमाणबाट समेत पुष्टी भएको छ ।
त्यसका साथै महाभारतकै अविन घलानले आफूहरुलाई खान पनि नदिएको र सम्पर्कमा पनि नआएकोले बाध्य भएर नेपालबाट टिकटको पैसा मगाएर नेपाल फर्किएको बताए । उनले दुबईमै रहेका उनीहरुले आफूहरुमात्र नभई अन्य नेपालीहरुलाई पनि ठगी गरेको हुनसक्ने बताए ।
उनीहरुले नेपालबाट विशेष गरी युवतीहरुलाई राम्रो होटलहरुमा काम लगाइदिन्छु भनेर भिजिट भिषामा बोलाउने तर दुबई पुगिसकेपछि विभिन्न यौनजन्य क्रियाकलापमा संलग्न हुन बाध्य पार्ने समेत जनाइएको छ ।



कागजपत्र |

