रुपन्देहीमा श्रीमानले गरे ५५ वर्षीय श्रीमतीको हत्या


वुटवल – रुपन्देहीमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्।

रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ३ हर्नैयामा यौनसम्पर्क गर्न नदिएको रिसमा गनपत बानियाँले आफ्नै श्रीमती कुश्मा बानियाँ हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रहरीले श्रीमतीको हत्या अभियोगमा ६६ वर्षीय गनपतलाई बिहीबार बिहान पक्राउ गरेको छ। ५५ वर्षीय कुश्मा बिहीबार बिहान सवा ३ बजे आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिइन्।

घटना थाहा पाउनेवित्तिकै घटनास्थल पुगेको प्रहरीले श्रीमान बानियाँलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी उपरीक्षक सत्यनारायण थापाले घरको कोठाभित्र खाटमा मृत भेटिएकी कुश्माको घाँटीमा दाग भेटिएपछि हत्या आशंकामा गनपतलाई पक्राउ गरिएको बताए।

गाउँमै धान कुट्ने मिल सञ्चालन गर्दै आएका गनपतले यौनको विषयमा विवाद भएपछि श्रीमतीको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

छोराबुहारी र नातिनातिना समेत एउटै परिवारमा बस्दै आएका गनपतले यसअघि पनि यौन सम्पर्क गर्न नदिएको भन्दै श्रीमती कुश्मालाई कुटपिट गर्दै आएको प्रहरी अनुसन्धानले देखाएको छ।

बुधबार साँझ पनि खानपिन गरी राति ९ बजेतिर सुत्न गएकी कुस्मालाई यौन सम्पर्क गर्न नदिएको भन्दै आफैंले घाँटी थिचेर हत्या गरेको गनपतले प्रहरीसामु बयान दिएको प्रहरी प्रवक्ता थापाले जानकारी दिए।

पक्राउ परेका गनपतमाथि रुपन्देही जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको थापाले बताए।

प्रतिक्रिया