
युके पठाइदिने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुईजना पक्राउ
काठमाडौं- कामदार भिसामा बेलायत पठाइदिन्छु भन्दै ४२ लाख ठगी गरेको आरोपमा दुई जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ। पक्राउ परेकामा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–७ का २२ वर्षीय आदर्श तिमल्सिना (हाल काठमाडौँ गोकर्णेश्वर–७) र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–४ का ३४ वर्षीय आशिष खोखाली (हाल गोकर्णेश्वर–७) रहेका कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिए।
आचार्यका अनुसार तिमल्सिनाले र३० लाख ५० हजार र खोखालीले ११ लाख ५० हजार एकै व्यक्तिबाट कामदार भिसा मिलाइदिन्छु भन्दै लिएको पुष्टि भएको छ। रकम लिएर दुवै जना फरार भएको उजुरी दर्ता भएपछि प्रहरीले उनीहरूलाई काठमाडौं–१२ क्षेत्रबाट पक्राउ गरेको हो।
साथै, आशिष खोखाली ‘जेन शिक्षा मब’ नामक कन्सल्टेन्सीका सञ्चालक रहेको र फेसबुकमार्फतै विदेशी रोजगारका नाममा ठगी गर्दै आएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।
दुवै जनालाई थप अनुसन्धान र आवश्यक कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।



कागजपत्र |
