शेख हसिनालाई ‘डिपोर्ट’ गर्न भारतसँग बंगलादेशको आग्रह


काठमाडौं-  बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमललाई मृत्युदण्डको सजाय सुनाएपछि बंगलादेश सरकारले भारतसँग उनीहरूको सुपुर्दगीको औपचारिक आग्रह गरेको छ।

मानवता विरुद्धका अपराधमा दोषी ठहर गरिएका व्यक्तिलाई कानुनी प्रक्रियाअनुसार आरोपित मुलुकमा फिर्ता पठाउने प्रक्रियालाई सुपुर्दगी भनिन्छ।

यसबारे भारतले सावधानीपूर्वक प्रतिक्रिया दिंदै आफू बंगलादेशका जनताको शान्ति, लोकतन्त्र, समावेशीकरण र स्थिरताको पक्षमा उभिएको बताएको छ। भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारत सबै सरोकारवालासँग रचनात्मक रूपमा संलग्न रहने उल्लेख गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “निकट छिमेकीको रूपमा भारत बंगलादेशका जनताको हित, शान्ति र लोकतन्त्रप्रति प्रतिबद्ध छ। यसै उद्देश्यका लागि भारतले सबैसँग रचनात्मक संवाद जारी राख्नेछ।”

बंगलादेशको विदेश मन्त्रालय भने कडा स्वरमा प्रस्तुत भएको छ। अदालतले फरार भन्दै भारतमा निर्वासनमा रहेका शेख हसिना र असदुज्जमानलाई दोषी ठहर गरिसकेकाले उनीहरूलाई तत्कालन सुपुर्दगी गर्न माग गरिएको छ।

सोमबार न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजुमदारको अध्यक्षतामा बसेको तीन सदस्यीय अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण–१ ले हसिनामाथि पाँच मुद्दामध्ये दुईमा मृत्युदण्ड र एकमा आजीवन कैदको फैसला सुनाएको हो।

गत वर्ष विद्यार्थी आन्दोलनअन्तर्गत आरक्षण विरोधी प्रदर्शन दमन गर्न सुरक्षा निकायलाई बल प्रयोग गर्न निर्देशन दिएको आरोपमा उनी दोषी ठहरिएकी हुन्।

पूर्व गृहमन्त्री असदुज्जमान खान कमललाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ भने पूर्व प्रहरी महानिरीक्षक अब्दुल्लाह अल मानुनलाई साक्षीका रूपमा पाँच वर्षको कारावास तोकिएको छ।

प्रतिक्रिया