खानेपानी कार्यालय बाराका निमित्त प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडाैं- खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, डिभिजन नम्बर ४ कलैया, बाराका निमित्त डिभिजन प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार निमित्त प्रमुख किशोरी प्रसाद यादव, लेखापाल प्रदीप दास, सान्दर्भिक मिडिया नेटवर्क प्रालि तथा उक्त कम्पनीका प्रबन्धक निसान्त सिग्देल र प्रभाव पब्लिकेशन प्रालिका बजार प्रबन्धक सन्तोषराज खरेलविरुद्ध आरोपपत्र दायर गरेको हो ।

बोलपत्रको सूचना नै प्रकाशन नगरी मिलेमतोमा ठेक्का लगाई अनियमितता गरेको भन्दै उनीहरूविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

डिभिजन कार्यालय, डिभिजन नम्बर ४ कलैया, बाराबाट आर्थिक वर्ष २०७९/०८० को स्वीकृत बजेट अनुसार बारा जिल्ला अन्तर्गत विभिन्न निर्माण कार्यका लागि २३ वटा बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐन अनुसार राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा नगरेर मिलेमतो गरेको आयोगले जनाएको छ ।

आयोगले चारै जनाविरुद्ध जनही ३ लाख १६ हजार ५७० रूपैयाँ बिगो कायम गरेको छ । साथै, भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद सजायको पनि माग गरिएको छ ।

कार्यालयलाई हानि पुर्‍याउने बदनियतले उक्त बोलपत्र आह्वानको सूचना लुकाई छिपाई, सार्वजनिक रूपमा प्रकाशन नगरी नगराई ठेक्काको प्रयोजनार्थ अभिलेखमा राख्ने गरी प्रभाव दैनिक पत्रिकाको एक प्रति मात्र प्रकाशित गरेको आयोगको भनाइ छ ।

प्रतिक्रिया