
रास्वपा छाडेका सन्तोष परियार, दुर्गा सोव र सुदन किराँतीबीच पाँच बुँदे सहमति
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक दुर्गा सोव तथा प्रगतिशील राष्ट्रिय अभियानका संयोजक सुदन किराँतीबीच पाँच बुँदे सहमति भएको छ।
देशमा बढ्दै गएको अर्थ–राजनीतिक सङ्कट, भ्रष्टाचार, नातावाद, बेरोजगारी र दलहरूमा देखिएको व्यापक भ्रष्टीकरणका विरुद्ध उभिएको जेन–जी आन्दोलनपछि आफूहरू एउटै मोर्चामा आएको उनीहरूको दाबी छ।
सहमति–पत्र सार्वजनिक गर्दै उनीहरूले अब एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। सहमतिमा विगतका विभिन्न मुक्ति आन्दोलनदेखि जेन–जी आन्दोलनसम्म बलिदान भएका सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै, घाइते तथा वेपत्ता आन्दोलनकारीप्रति सम्मान व्यक्त गर्दै उनीहरूले ती आन्दोलनहरूले दिएको परिवर्तनको सपना पूरा गर्ने प्रतिवद्धता समेत जनाएका छन्।
तीन पक्षबीच बन्ने नयाँ एकीकृत पार्टीको नाम र चुनाव चिन्ह एउटै बनाउने सहमति भएको छ। यसका लागि मङ्सिर ७ गते वृहत् एकता घोषणा कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको छ।




कागजपत्र |
