काँधमा थपिएको फूलीभन्दा गहन जिम्मेवारी र चुनौतीपूर्ण परिक्षामा आईजीपी कार्की 


काठमाडौं – जेनजी पुस्ताको आन्दोलनमा भोगेको क्षतिपछि लयमा आउँदै गरेको नेपाल प्रहरीले आजदेखि नयाँ कमाण्डर पाएको छ । सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरिक्षक (आईजीपी)मा बनाउने निर्णय गरेसँगै संगठनको कमाण्ड कार्कीले लिने भएका हुन् ।

नियुक्तिको पहिलो साता नबित्दै मातहतका कार्यालयहरु ध्वस्त बनेर पुनःस्र्थापनाका काम हुँदा हुँदै निवर्तमान आईजीपी चन्द्रकुबेर खापुङ अनिवार्य अवकाशमा गए । त्यसपछि संगठनको नेतृत्व कार्कीले पाए ।

बरियताको शीर्षस्थानमा रहेका कार्कीको नियुक्तिमा अन्य प्रतिस्पर्धीहरुले अहिलेसम्म खासै प्रतिक्रिया नदेखाएकोले निर्विवाद भन्न सकिने अवस्था आएको छ । नेपाल प्रहरीका कतिपय नेतृत्व चयनका सबालमा कानुनी बाधा अड्चनहरु आइरहने गरेको विगत यसपटक दोहोरिएन ।

सोमबारको मन्त्रीपरिषद्को बैठकबाट आईजीपी चयन भएका कार्कीले बुधबार साँझ निवर्तमान आईजी खापुङको बिदाई गरिसकेका छन् । उनै कार्कीलाई आज गृहसचिव रामेश्वर दंगालले प्रहरी महानिरिक्षक (आईजीपी)को दर्ज्यानी लगाइदिएसँगै उनी नेपाल प्रहरीको ३३ औं कमाण्डर बन्दै संगठन सम्हाल्दैछन् ।

दर्ज्यानी चिन्ह ग्रहण गरिसकेपछि गृहमन्त्रालयमा आयोजित विशेष कार्यक्रममा नवनियुक्त आईजीपी कार्कीले आप्mनो कार्यकालमा नेपाली जनताले शान्ति सुरक्षाको प्रत्याभूति गर्ने र संगठनभित्रको आन्तरिक शुद्धिकरणका साथै प्रहरी कर्मचारीहरुको वृत्ति विकासका लागि अहोरात्र खटिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

त्यसका साथै आईजी कार्कीले अपराध र सुरक्षा चुनौतीहरु बढ्दै गएको महसुस गर्दै जनअपेक्षाअनुरुपको दक्ष जनशक्तिको निर्माण गर्नु सबैको साझा चुनौती भएको बताएका छन् ।

जेनजी आन्दोलनपछि सरकारमाथि परेको दबाब र शान्तिसुरक्षा व्यवस्थापन गरी प्रहरी संगठनलाई उच्च मनोबलका साथ घोषित निर्वाचनलाई सुरक्षित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउनुपर्ने गहन अभिभारासहित काँधमा फुली थपेका कार्कीलाई वर्तमान सरकारसँगै निर्वाचनपछि आउनसक्ने सम्भावित सरकारसँग समन्वय गर्नुपर्ने चुनौती रहेको छ, जुन चुनौती अहिलेसम्म कार्कीले जागिरे जीवनमा भोगेकोभन्दा ठूलो चुनौती बन्नेमा कुनै द्विविधा छैन ।

यतिबेला कार्कीको काँधमा फुली थपिएको मात्र नभई आन्दोलनका क्रममा जेलबाट भागेका हजारौं कैदीहरुबाट हुनसक्ने सम्भावित अपराधहरुको नियन्त्रण गर्नु पनि प्रमुख चुनौती हो । प्रदर्शनका क्रममा संगठनका हजारौं हतियारहरु लुटिएका छन्, जसको गलत प्रयोग गरी जेलबाट भागेका कैदीहरुले मुलुकको शान्ति सुरक्षामा कस्तो प्रभाव पार्ने होलान्? त्यसको आंकलन गरेर व्यवस्थापन गर्नु कार्कीको अर्को चुनौती हो । त्यसका साथै ३६ घन्टाको आन्दोलनपछि मुलुकले भोगेको राजनीतिक परिवर्तनमा आफूलाई अभ्यस्त बनाउँदै भावी नेपालका लागि सार्थक दिशा दिनेतर्फ योगदान गर्नु अर्को दायित्व अवश्य देखिन्छ ।

पछिल्ला दिनमा संगठन छाड्ने क्रम बढ्दै गइरहेको छ । संगठनका साना तहका कर्मचारीहरुमात्र नभई उच्च अधिकारीहरुले पनि सुखद् भविष्यको खोजीमा संगठन छाडिरहेका छन् । नयाँ कर्मचारी भर्ना गर्नुभन्दा पनि संगठनले एउटा अधिकृत बनाउनका लागि गरेको लगानी, समय ज्यादै महत्वपूर्ण रहेको हुनाले संगठनमा लामो समयसम्म काम गरी दक्ष बनिसकेको कर्मचारीलाई संगठनमै रहनसक्ने वातावरण बनाउनु अर्को चुनौती हुनसक्छ ।

त्यसैमाथि पछिल्ला दिनहरुमा नेपाल प्रहरीले आह्वान गरेका दरखास्तहरुमा मागअनुसार आकर्षण नदेखिनु अर्को समस्या हो ।

त्यसका साथै संगठन नेतृत्वका दाबेदार रहेका प्रतिस्पर्धीहरुसँग मिलेर काम गर्नुपर्ने दायित्व कार्कीमा रहेको छ । कार्कीसँगै एआईजीहरु राजन अधिकारी, डा. मनोज केसी र सिद्धिविक्रम शाह प्रतिस्पर्धामा थिए ।

३३ औँ महानिरीक्षकका रुपमा कार्कीले २०८४ चैत १७ सम्म प्रहरी संगठनको नेतृत्व गर्नेछन्।

प्रतिक्रिया