
देश जलाउनेले नै देश चलाए : ओली
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा देशलाई अस्थिरतामा धकेल्ने प्रयास भइरहेको बताएका छन्।
आइतबार काठमाडौँमा राष्ट्रिय युवा संघ नेपालको पूर्ण बैठकमा सम्बोधन गर्दै ओलीले असंवैधानिक ढंगले सरकार गठन र प्रतिनिधिसभा विघटन गर्ने माध्यमबाट देशलाई संकटमा पार्ने प्रयास भएको बताएका हुन्।
उनले भने, “देश जलाउनेहरू नै अहिले देश चलाउन भनेर आएको स्थिति राष्ट्रको लागि अनिष्टपूर्ण छ। यो परिस्थितिलाई लामो समय जान दिनु हुँदैन।” ओलीका अनुसार विभिन्न आपराधिक तत्वबाट जनता आतंकित भएका छन् र उनीहरूलाई सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी युवा पुस्ताको काँधमा आएको छ।
अध्यक्ष ओलीले जेनजी आन्दोलनका क्रममा अपराधमा संलग्न व्यक्तिहरूको पहिचान भए तापनि कारबाही नगरी छाडिएको, प्रहरीले सप्रमाण पक्राउ गर्दा समेत सरकारले छाड्ने आदेश दिएको जिकिर गरे।
ओलीले एमाले तोडफोड र आगो लगाउन सडकमा नजाने, तर देशमा शान्ति, संविधान र लोकतन्त्र कायम गर्न संवैधानिक अधिकार प्रयोग गरी सडकमा जाने बताए। उनले शान्तिपूर्ण आन्दोलनलाई संविधानले दिएको अधिकार भएको बताउँदै यसमा प्रशासन वा सीडीओको आदेशले रोक्न नपाउने बताए।
उनले एमाले संविधानको रक्षा गर्दै लोकतन्त्र फर्काउन प्रतिबद्धतासहित सडकमा उत्रिने घोषणा पनि गरे।



कागजपत्र |
