नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा पूर्वसहसचिव कार्की पक्राउ


काठमाडौं – नेपाल ट्रस्टको स्वामित्वमा रहेको दरबारमार्गस्थित जग्गा अनियमित रूपमा लिजमा दिएको आरोपमा पूर्वसहसचिव लेखबहादुर कार्कीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ।

प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार चितवनको भरतपुर–१५ निवासी कार्कीलाई शुक्रबार ठगी र आपराधिक विश्वासघातको कसूरमा पक्राउ गरिएको हो।

प्रारम्भिक अनुसन्धानअनुसार नेपाल ट्रस्ट र थामसेर्कु ट्रेकिङ प्रालिबीच २०७४ जेठ १४ गते भएको लिज सम्झौतामा अनियमितता भएको पाइएको छ। सम्झौतामा काठमाडौं महानगर–१ दरबारमार्गस्थित कित्ता नं. ४६०६ मात्र नभई अनधिकृत रूपमा अर्को कित्ता नं. ४६०५ पनि लिजमा दिइएको बताइएको छ।

तीन वर्षको निर्माण अवधिसहित ३० वर्षका लागि गरिएको उक्त लिज सम्झौतामा संचालक समितिको निर्णय र कानुनी प्रक्रिया बेवास्ता गरिएको प्रारम्भिक तथ्याङ्कले देखाएको प्रहरीले जनाएको छ।

नेपाल ट्रस्ट ऐन, २०६४ विपरीत ट्रस्टको नाममा दर्ता जग्गा निजी नाममा नामसारी गरिएको, मोहीहरूले कब्जा जमाएको र हजारौँ रोपनी जग्गा अझै संरक्षण हुन नसकेको विषय महालेखा परीक्षकको प्रतिवेदनमा समेत उल्लेख छ।

प्रहरीले कार्कीमाथि थप अनुसन्धान अघि बढाएको छ र घटनामा संलग्न अन्य अधिकारी र व्यक्तिहरूको पहिचान कार्य पनि जारी रहेको जनाएको छ।

प्रतिक्रिया