
फेसबुकमार्फत अनलाइन ठगी गर्ने तीन जना पक्राउ
काठमाडौं- सामाजिक सञ्जाल फेसबुकमार्फत अनलाइन ठगी गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले तीन जना व्यक्तिलाई पक्राउ गरेको छ ।
ब्युरोका अनुसार उनीहरूले विभिन्न बैंकको नाममा आकर्षक विज्ञापन पोस्ट गरी बोनस पाइने भन्दै प्रयोगकर्तालाई सर्भे लिंकमा क्लिक गराउन प्रलोभन देखाउँथे । लिंक प्रयोग गरेपछि पीडितको बैंक खाता ह्याक भई रकम ट्रान्सफर हुने गरी ठगी गरिएको बताइएको छ ।
उजुरी प्राप्त भएपछि ब्युरोले अनुसन्धान र प्राविधिक विश्लेषण सुरु गरेको थियो । सोही क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–११ नर्सरी बस्ने ४० वर्षीय राजन गिरी, ओखलढुङ्गा चम्पादेवी–८ घर भई काठमाडौं बुढानीलकण्ठ बस्ने २६ वर्षीया मिना लकान्द्री तथा भारत बिहार, पूर्वी चम्पारन नागारोड–११ रक्सौल घर भई काठमाडौं ठमेल बस्ने २६ वर्षीय आदित्य कुमार पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट नेपाली र विदेशी नगद, विभिन्न बैंकका एटीएम कार्ड, भारतीय सिमकार्ड, मोबाइल फोन र क्यासिनो कार्डसमेत बरामद गरिएको ब्युरोले जनाएको छ ।



कागजपत्र |
