
वन अधिकृत श्रेष्ठविरुद्ध १ करोड ४३ लाखको भ्रष्टाचार मुद्दा दायर
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, भोजपुरका डिभिजनल वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार, श्रेष्ठले १ करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुलाउन नसकेकाले सोही रकम बराबरको बिगो कायम गरी आरोपपत्र दायर गरिएको हो।
श्रेष्ठले सार्वजनिक पदमा रहँदा पदीय अख्तियारको दुरुपयोग गरी अस्वाभाविक जीवनस्तर यापन गरेको र अवैध रूपमा सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा अनुसन्धान थालिएको आयोगले जनाएको छ।
अनुसन्धानका क्रममा २०४८ साल असार २६ गतेदेखि २०८० साल फागुन १६ गतेसम्मको अवधिमा श्रेष्ठ र उनका परिवारको वैध आय २ करोड १६ लाख ८५ हजार ५५७ रुपैयाँ देखिएको तर खर्च र लगानी ३ करोड ६० लाख ४ हजार ४९५ रुपैयाँ पुगेको पाइएको हो।
आयोगका अनुसार, आयभन्दा व्यय १ करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ बढी भएको र उक्त रकमको स्रोत पुष्टि नहुँदा गैरकानूनी सम्पत्ति आर्जन ठहर गरिएको हो।
श्रेष्ठविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिम कैद र जरिवानाको माग गरिएको छ। साथै, गैरकानूनी रूपमा आर्जन गरिएको सम्पत्ति जफत गर्न पनि माग गरिएको आयोगको विज्ञप्तिमा उल्लेख छ।
श्रेष्ठले राष्ट्रसेवक पदमा रहँदा सम्पत्ति विवरण लुकाएको र झुठा विवरण पेस गरेको पाइएकाले सो कसूरमा पनि थप सजायको माग गरिएको छ।
आयोगले श्रेष्ठले अवैध सम्पत्ति आफ्नी पत्नी नरमाया श्रेष्ठ, बुहारी भावना वरुवाल र उनी सञ्चालक रहेको ‘फरेष्ट एण्ड इन्भारोमेन्ट रिसर्च अर्गनाइजेशन प्रा.लि.’ को नाममा लुकाएको जनाएको छ।
गैरकानूनी रूपमा आर्जन गरिएको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि नरमाया श्रेष्ठ, भावना वरुवाल र उक्त कम्पनीलाई समेत प्रतिवादी बनाइएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जारी विज्ञप्तिमा उल्लेख गरेका छन्।



कागजपत्र |
