कैलालीमा स्रोत नखुलेको २८ लाखसहित दुई भारतीय पक्राउ


कैलाली- जिल्ला प्रहरी कार्यालय कैलालीले ठूलो परिमाणको नगदसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार, आइतबार साँझ करिब ५ बजेतिर धनगढी उपमहानगरपालिका–३ मिलनचोकमा विशेष सूचनाको आधारमा सञ्चालन गरिएको चेकजाँचका क्रममा उनीहरू पक्राउ परेका हुन्।

भारत लखिमपुर खीरी, पलियाका २७ वर्षीय हरचित गुप्ताले चलाएको भारतीय नम्बर प्लेटको कार रोकि तलासी गर्दा उनको साथमा रहेका अर्का भारतीय नागरिक २९ वर्षीय सागर गुप्तासँग मिलेर स्रोत नखुलेको  २८ लाख ३ सय ५० रुपैयाँ  बरामद गरिएको प्रहरीले जनाएको छ।

नगदसहित बरामद गरिएको कार समेत नियन्त्रणमा लिएर दुवै जनालाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखेको छ।

प्रहरीका प्रवक्ताका अनुसार, पक्राउ परेकामाथि रकमको स्रोतका बारेमा अनुसन्धान भइरहेको छ। आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र अनुसन्धानपछि थप विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया