बुटवलमा अर्काकी बुढीसँग होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु


बुटवल – परस्त्रीसँग होटलमा बसेका एक पुरुषको बुटवलमा रहस्यमय ढंगले मृत्यु भएको छ । घटनापछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको जनाएको छ ।

बुटवल उपमहानगरपालिका–६ चाँदबारीका ५६ वर्षीय सतिशकुमार क्षेत्रीको शनिबार दिउँसो मृत्यु भएको हो । उनी बुटवल मिलनचोकस्थित न्यू अर्घाखाँची लुम्बिनी होटेल एण्ड लजमा ३० वर्षीया एक विवाहित महिलासँग पुगेका थिए ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रबहादुर रानाले क्षेत्रीको मृत्युबारे विस्तृत अनुसन्धान भइरहेको बताए । उनले भने, ‘शवमा बाहिरी चोटपटक केही देखिएको छैन । पोस्टमार्टम रिपोर्ट नआएसम्म मृत्युको कारण भन्न गाह्रो छ ।’

प्रहरीका अनुसार सो महिलाका श्रीमान वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छन् । होटलमा पुगेका बेला उनीहरूका दुई बच्चा पनि साथमा रहेका थिए । अनुसन्धानमा संलग्न अधिकारीका अनुसार क्षेत्री र ती महिलाले फरक–फरक तलामा कोठा बुक गरे पनि एउटै कोठामा बसेर खाजा खाएका थिए ।

होटलका सञ्चालकका अनुसार खाजा खाएपछि अचानक क्षेत्री बेहोस भएका थिए । त्यसपछि महिलाले होटल सञ्चालकलाई जानकारी दिएकी थिइन् । तत्पश्चात् उनलाई तत्काल एम्बुलेन्समा राखी लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । तर, अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषित गरे ।

प्राथमिक अनुसन्धानमा उनीहरूले कोठामा बसेर मासु र मदिरा सेवन गरेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको पूर्ण सत्यतथ्य पत्ता लगाउन क्षेत्रीसँगै रहेकी महिलालाई नियन्त्रणमा लिएर बयान लिइरहेको जनाएको छ ।

प्रतिक्रिया