काभ्रे अदालतमा खगेन्द्र सुनारको बयान सकियो, आदेश आउन बाँकी


काभ्रेपलाञ्चोक – अधिवक्ता मनिषा गौतमविरुद्ध सामाजिक सञ्जालमा अपशब्द लेखेको आरोपमा पक्राउ पुर्जी जारी भइसकेका खगेन्द्र सुनार बिहीबार जिल्ला अदालत काभ्रेपलाञ्चोकमा उपस्थित भएका छन्।

सुनारमाथि अदालतको अवहेलना र विद्युतीय कारोबार ऐनअन्तर्गत अपशब्द बोलेको अभियोग लगाइएको छ। जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार इन्दिरा कार्कीका अनुसार न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा बिहीबार सुनारको बयान तथा थुनछेकसम्बन्धी बहस सम्पन्न भएको हो। कार्कीले आदेश भने अझै आउन बाँकी रहेको बताइन्।

सुनारले सामाजिक सञ्जाल फेसबुकमार्फत अधिवक्ता गौतमलाई अपशब्द प्रयोग गर्दै स्टाटस लेखेको र लाइभमार्फत पनि गालीगलौज गरेको आरोपमा साइबर ब्यूरोमा उजुरी परेको थियो। गौतमको स्थायी ठेगाना काभ्रेपलाञ्चोक भएकाले ब्यूरोले अनुसन्धानका लागि फाइल जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाएको थियो।

अनुसन्धानकै क्रममा फरार रहेका सुनारविरुद्ध प्रहरीले गत साउन २ गते अदालतमा मुद्दा दायर गरेको थियो।

मन्त्रिपरिषद् विस्तारका क्रममा सुनारको नाम पनि मन्त्रीका लागि सिफारिस सूचीमा परेको थियो। तर, उनीमाथि विभिन्न मुद्दा बाहिरिएपछि अन्तिम समयमा उनको नाम सूचीबाट हटाइएको थियाे।

प्रतिक्रिया