वर्षासँगै ललितपुरको महालक्ष्मीस्थान रिङरोड जलमग्न


काठमाडौं — पश्चिमी वायु र बङ्गालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातको प्रभावले देशका विभिन्न भागमा वर्षा भइरहेको छ। यसको प्रभावले उपत्यकासहित देशभर हल्कादेखि मध्यम वर्षा भइरहेकाले मौसम बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार चक्रवात ‘मोन्था’ को प्रभाव शनिबारसम्म नेपालका सातै प्रदेशमा रहनेछ। उक्त प्रणालीका कारण देशभर हावाहुरी, मेघगर्जन र असिनासहित वर्षा हुने सम्भावना रहेको चेतावनी जारी गरिएको छ।

काठमाडौं उपत्यकामा बिहानैदेखि पानी परेपछि ललितपुरको महालक्ष्मीस्थानस्थित रिङरोड क्षेत्रको सडक जलमग्न भएको छ। नालाको उचित व्यवस्थापन नहुँदा सो क्षेत्रमा थोरै वर्षा हुँदा पनि पानी जम्ने समस्या वर्षौंदेखि दोहोरिँदै आएको छ।

पानी जम्दा सवारीसाधनहरू चलाउन कठिनाइ हुने, सडकमा पैदल हिँड्नेहरू जोखिममा पर्ने अवस्था देखिएको स्थानीयहरू बताउँछन्। सडकमा पानी थामिएर करिब घुँडासम्म जम्दा यातायात सुचारु गर्न समेत समस्या परेको छ।

प्रतिक्रिया