काठमाडौंमा धारिलो हतियार देखाइ लुटपाट गर्ने दुई युवक पक्राउ


काठमाडौं — तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा फूलबारी गेट नजिक धारिलो हतियार देखाएर लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुर भीमफेदी गाउँपालिका–५ घर भई हाल काठमाडौं बूढानीलकण्ठ बस्ने २६ वर्षीय सूर्यबहादुर घलान र सिन्धुली दूधौली नगरपालिका–१० घर भई हाल बूढानीलकण्ठमै बस्ने २३ वर्षीय मनोज चौधरी रहेका छन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख दानबहादुर कार्कीका अनुसार गएराति गोकर्णेश्वर नगरपालिका–५ बस्ने १९ वर्षीय श्रवण तामाङ सडक किनारामा बा.प्र.०२–०५० प १६०२ नम्बरको मोटरसाइकल रोकेर बसेका बेला बा.४२ प ४०६९ नम्बरको मोटरसाइकलमा आएका दुई जनाले धारिलो हतियार देखाएर उनलाई धम्क्याउँदै साथमा रहेको कालो झोला लुटी फरार भएका थिए।

प्रहरीका अनुसार उनीहरूको साथबाट लुटिएको झोला र त्यसभित्रका सामग्रीहरू फेला परेका छन्। बरामद सामग्रीमा बा.प्र.०२–०५० प १६०२ नम्बरको बिलबुक, मोबाइल चार्जर, घरको चाबी, ‘रोलेक्स’ लेखिएको घडी एक थान, नगद ३ हजार रुपैयाँ, खुकुरी एक थान, ‘रेड्मी’ कम्पनीको मोबाइल, ‘बोबो’ लेखिएको कालो झोला, ‘ट्रमाडोल’ लेखिएको लागुऔषध ३० थान र बा.४२ प ४०६९ नम्बरको रातो–कालो मोटरसाइकल समावेश छन्।

प्रहरीले पक्राउ परेका दुवैजनालाई प्रारम्भिक सोधपुछका लागि प्रहरी वृत बालाजुमा राखेको छ।

प्रतिक्रिया