वर्षाका कारण नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध


नवलपुर-  पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने भाग आज बिहानदेखि अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण मर्मतका लागि एकतर्फी सञ्चालनमा रहेको सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी मधु नेपालले जानकारी दिए।

उनका अनुसार विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत विश्वकर्मा मन्दिर र घ्युखोलाको बीचमा सडक हिलो र चिप्लो बनेपछि सवारीसाधन सञ्चालन हुन नसकेको हो। नेपालले भने, “बिहानैदेखि परिरहेको वर्षाका कारण सडक अत्यधिक हिलो र चिप्लो बनेको छ। पश्चिमतर्फ जाने सवारीसाधन विशेष गरी मालवाहक ट्रकहरू उकालो चढ्न नसक्दा समस्या थपिएको छ। दाउन्ने खण्डमा ट्राफिक जाम हुन नदिन प्रहरी परिचालन गरिएको छ।”

हाल नेपालमा बंगालको खाडी र अरब सागरमा विकसित भएको चक्रवातीय प्रणालीको संयुक्त प्रभाव परिरहेको छ। खाडीबाट आएको प्रणाली पूर्वी क्षेत्रमा र अरब सागरबाट आएको प्रणाली पश्चिमी क्षेत्रमा प्रवेश गरेको मौसमविद्हरूले जनाएका छन्।

यसको प्रभाव स्वरूप देशका धेरै भागमा वर्षा भइरहेको छ।

प्रतिक्रिया