
संसद् भवन आगजनीमा स्ववियु सदस्य संलग्न, प्रहरीकाे हतियार पनि लुटेका थिए
काठमाडौं- जेनजी आन्दोलनका क्रममा संसद् भवनमा भएको आगजनी तथा हतियार लुटपाटमा बानेश्वर बहुमुखी क्याम्पसका स्ववियु सदस्य २५ वर्षीय सुजन वाइबा संलग्न रहेको खुलेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले वाइबा समूहले पेट्रोल बोकेर संसद् भवन र प्रहरी कार्यालयहरूमा आगजनी गरेको पुष्टि गरेको छ।
वाइबा अखिल (क्रान्तिकारी)बाट बानेश्वर क्याम्पसको स्ववियु सदस्य निर्वाचित भएका थिए। काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाका अनुसार वाइबा सहित चार जनालाई आगजनी र हतियार लुटपाटको आरोपमा पक्राउ गरिएको हो। उनले बानेश्वर प्रहरी वृत्तबाट तीन नाल हतियार लुटेकाे पनि पाइएकाे छ । वाइबालाई हतियार बोकेर हिँडिरहेको भिडियो प्रमाणको आधारमा पक्राउ गरिएको हो ।
पक्राउ परेका अन्य व्यक्तिहरूमा कञ्चनपुरका २० वर्षीय विकास अग्री, दोलखाको मेलुङ-६ का २४ वर्षीय युवराज भण्डारी र कञ्चनपुरको भीमदत्त नगरपालिका-६ का २५ वर्षीय अनिल बुढा रहेका छन्। बुढा इनड्राइभका चालक भएको प्रहरीले जनाएकाे छ।
भदौ २४ गते सो समूहले लुटेको हतियार बोकेर प्रहरी वृत्त नयाँ बानेश्वर, प्रभाग कोटेश्वर तथा संसद् भवनमा आगजनी गरेको अनुसन्धानमा देखिएको छ।
लुटिएको हतियार नेपाली सेनालाई बुझाएको जानकारी पक्राउ परेकाहरूले प्रहरीलाई दिएका छन्। कात्तिक १० गते पक्राउ गरिएका उनीहरूविरुद्ध आपराधिक उपद्र मुद्दामा प्रहरी वृत्त नयाँ बानेश्वरले म्याद थपेर अनुसन्धान गर्दै आएको छ।



कागजपत्र |
