
अमेरिकाबाट फर्किएपछि एलिना भन्छिन्, ‘कलाकारले धनभन्दा बढी इज्जत र कदर खोज्छन्’
काठमाडौं — अमेरिका कार्यक्रमका लागि तीन महिना बिताएर नेपाल फर्किएपछि गायिका एलिना चौहानले सामाजिक सञ्जालमार्फत् आयोजकप्रति रोष पोखेकी छिन् । एलिनाले कलाकारले धनभन्दा बढी इज्जत र कदर खोज्ने गरेको बताएकी छन् ।
लामै समय अमेरिका भ्रमण गरेर केही दिनअघि मात्रै स्वदेश फर्किएकी गायिका चौहानले आयोजकलाई लक्षित गर्दै यस्तो बताएकी हुन् । आयोजक कलाकारको मालिक नभई संरक्षक भएको समेत उनले बताइन् ।
उनले लेखेकी छन्, ‘जस्तो छ, त्यस्तै भन्छु – यो टुर मेरो लागि ठुलो सिकाइ बन्यो।कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो। कसैले कैदीझैँ महसुस गर्यो, कसैले अपमान सहनु पर्यो। एउटा कुरा स्पष्ट भन्न चाहन्छु आयोजक भनेको कलाकारको संरक्षक हो, मालिक होइन। नराम्रा अनुभवले धेरै कुरा सिकायो –अब कुनै कलाकारले यस्तो अपमान भोग्न नपरोस् ।’
यसअघि यही समूहकी कलाकार कला लम्सालले पनि आयोजकसँग निकै आक्रोश पोखेकी थिइन् । साथै उनी बिचमै फर्किएकी थिइन् ।
बद्री पंगेनी र प्रताप दाससँगै रहेर तीनमहिनासम्मको कार्यक्रम सकाएपछि नेपाल आएर उनले आक्रोश पोखेकी हुन् । अमेरिकामा रहँदा प्रतापसँगको सम्बन्धका विषयमा चर्चामा रहेकी थिइन् ।




कागजपत्र |
