
जमलमा पैदल यात्रु लुट्ने टोली प्रहरीको फन्दामा
काठमाडौं – राजधानीको जमल क्षेत्रमा कुटपिट गरी नगद, सुनका गहना र मोबाइल लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामा मकवानपुर हेटौँडा घर भई हाल चन्द्रागिरी–५ बस्ने २१ वर्षीय अर्जुन श्रेष्ठ, झापा झिलझिले घर भई पुरानो नैकाप बस्ने २० वर्षीया सुस्मिता महर्जन उर्फ सिर्जना राई र रामेछाप घर भई हाल डल्लु बस्ने २२ वर्षीय बिनिता मगर रहेका छन्।
उनीहरूले कात्तिक ४ गते बिहान करिब ३ बजे जमलस्थित राष्ट्रिय नाँचघर अगाडि सडक पेटीमा पैदल हिँडिरहेका व्यक्तिलाई कुटपिट गर्दै उनको साथमा रहेको नगद, २ तोलाको सुनको सिक्री र मोबाइल लुटेर फरार भएका थिए।
घटनापछि प्राप्त सूचनाको आधारमा खोजतलास गर्दा तीनै जनालाई शुक्रबार दिउँसो करिब साढे २ बजे सञ्चयकोष नजिकैबाट लुटिएको सामानसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
प्रहरीका अनुसार उनीहरूबाट २३.३० ग्राम सुनको सिक्री, मोबाइल फोन र २ हजार २ सय ३५ रुपैयाँ बरामद गरिएको छ। लुटपाटमा संलग्नताबारे थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरिएको एसपी भट्टराईले बताए।



कागजपत्र |
