प्रहरी हत्याको अभियोगमा थप ५ जना पक्राउ


काठमाडौं — जेनजी आन्दोलनका क्रममा प्रहरीको हत्याको आरोपमा थप ५ जना पक्राउ परेका छन् । भदौ २४ गतेको प्रदर्शनका क्रममा प्रदर्शनकारीको आक्रमणबाट प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई मिलन राय र जवान उत्तम थापाको हत्यामा संलग्न रहेका थप ५ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा गोरखा घर भएका २१ वर्षीय सोम गुरुङ, तनहुँ घर भएका २१ वर्षीय राजीव गुरुङ र २१ वर्षीय युनिक श्रेष्ठ छन् । सर्लाही घर भएका १७ वर्षीय सुमित तितुङ र रामेछाप घर भएका १६ वर्षीय दीपक मगर पनि भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँका हिरासतमा छन् । उनीहरुले कुटपिट गरेर महाराजगन्जमा कार्यरत दुई जना प्रहरीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

महाराजगन्जमा प्रहरीको हत्यामा संलग्न ४ जना आरोपीहरू यसअघि नै पुर्पक्षका लागि कारागार चलान भएका थिए । काठमाडौँ जिल्ला अदालतको आदेशपछि कारागार चलान हुनेहरूमा युवराज क्याप्छाकी, सोनाम तामाङ भन्ने बुद्धिलाल थिङ, होम प्रसाद पौडेल र टिकाराम बिक छन् ।

सुमित तितुङ र दीपक मगरलाई प्रहरीले असार ३१ देखी भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । हत्यामा संलग्न अरू ३ जना आरोपीचाहिँ कार्तिक ३ मा पक्राउ परेका हुन् ।

प्रतिक्रिया