२३ मुद्दामा मुछिएका सुनार मन्त्री बन्ने चर्चा, सर्वोच्च जलाउने धम्कीदेखि ठगीसम्मकाे आरोप


काठमाडाैं-  अन्तरिम सरकारको मन्त्री बन्ने चर्चामा आएका दलित अभियन्ता खगेन्द्र सुनार फरार अभियुक्त भएको तथ्य सार्वजनिक भएको छ। नेपाल प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) अनुसार उनीमाथि कैद भुक्तान गर्न बाँकी दुईवटा मुद्दा दर्ता छन्।

नेपाल प्रहरी प्रधान कार्यालयको चालचलन शाखा स्रोतका अनुसार काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट विद्युतीय कारोबारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भए पनि प्रक्रिया अघि बढेको छैन। त्यस्तै सुर्खेत जिल्ला अदालतले २०८१ असार २१ मा जारी गरेको स्वास्थ्य संस्था तोडफोड तथा हातपातसम्बन्धी अर्को मुद्दामा समेत उनी पक्राउ पर्न बाँकी छन्।

WhatsApp Image 2025-10-26 at 12.00.25_742e8ab0

यसबाहेक सुनारविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी मुद्दा विचाराधीन छ। अधिवक्ता मनिषा गौतमले २०८२ वैशाख २० मा दायर गरिएको सो मुद्दामा गत असोज ६ गते पेसी तोकिए पनि सर्वोच्च अदालत जलेपछि स्थगित भएको थियो। गौतमका अनुसार रुकुम पश्चिमको नवराज विक प्रकरणबारे उच्च अदालत सुर्खेतले गरेको फैसलापछि सुनार समूहले अदालत गेट तोडफोड, हुलहुज्जत र न्यायाधीशहरूविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको थियो।

सुनारले अधिवक्ता गौतमविरुद्ध सामाजिक सञ्जालमार्फत गालीगलौज, चरित्रहत्या प्रयास गरेको आरोप छ। उनले फेसबुकमा गौतमको फोटो र फोन नम्बर सार्वजनिक गर्दै ‘तँ नेपाल बारकी होस् कि ठमेल बारकी?’ जस्ता अभिव्यक्ति दिएका थिए। यस्तै मुद्दामा साइबर ब्यूरोमा जाहेरी दिए पनि प्रहरीले काभ्रे अदालत जानू भन्दै फर्काएको गौतम बताउँछिन्।

गौतमका अनुसार सुनारविरुद्ध देशभर २३ मुद्दा चलिरहेका छन्। तर उनी आफूलाई दलित अधिकारकर्मी भन्दै निरन्तर सक्रिय देखिँदै आएका छन्। नेपाली कांग्रेस पृष्ठभूमिका सुनार पत्रकारितामासमेत सक्रिय थिए। उनले विगतमा ठगी आरोपमा जेल सजाय काटेका थिए।

यस्तो विवादास्पद व्यक्तित्व सरकारको महत्वपूर्ण पदमा मन्त्री बन्ने चर्चा चर्किँदा कानुनी शासनको मर्यादामाथि प्रश्न उठेको छ।

प्रतिक्रिया