
ओलीका कार्यकर्ताले जलाएका थिए पूर्वराष्ट्रपति भण्डारीको घर
काठमाडौं – नेकपा एमालेभित्र उग्रपन्थी गतिविधि बढ्दै गएको आरोपबीच पूर्वराष्ट्रपति विद्या भण्डारीको काठमाडौं भंगालस्थित घरमा आगजनी गरेको आरोपमा एमाले निकट राष्ट्रिय युवा संघका नेता सोनम थेवे पक्राउ परेका छन्। ताप्लेजुङ सिरिजङ्घा–१ का स्थायी बासिन्दा थिएवे हाल काठमाडौं धुम्बारहीमा बस्दै आएका थिए।
प्रहरीका अनुसार, गत भदौ २४ गते ‘जेन(जी)’ आन्दोलनका क्रममा भण्डारीको घरमा तोडफोड र आगजनीमा थेवे प्रत्यक्ष संलग्न थिए। उनी एमाले अध्यक्ष केपी शर्मा ओलीका निकट कार्यकर्ता मानिन्छन् र रामवाग महलमा भएको एमाले केन्द्रीय बैठकमा ओलीको सुरक्षामा समेत देखिएका थिए।
थेवे विगतमा पनि ठगी र हुलहुज्जतसम्बन्धी मुद्दामा पक्राउ परे पनि राजनीतिक दबाबमा उम्किँदै आएका थिए। पछिल्लो समय उनी एमाले युवा नेता मिलन गुरुङ (चक्रे मिलन) समूहमा सक्रिय रहेको बताइएको छ।
विश्लेषकहरूले एमालेभित्र यस्ता गतिविधि बढ्नुले पार्टीको अनुशासन कमजोर हुँदै गएको टिप्पणी गरेका छन्। भण्डारीको घर जलाउनेदेखि डा. भीम रावल र अन्य नेताको घरमा भएको आगजनीमा समेत एमालेभित्रकै कार्यकर्ताको संलग्नता देखिनु, पार्टीभित्र नियन्त्रणको संकट देखिएको संकेतका रूपमा लिइएको छ।



कागजपत्र |
