लुटिएका हतियार गृहमन्त्रीले नै लुकाएको आशंका छ: कांग्रेस नेता शाही


काठमाडौं – नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि गम्भीर आरोप लगाएका छन्। उनले जेन-जी आन्दोलनका क्रममा लुटिएका हतियार गृहमन्त्रीले नै लुकाएको आशंका व्यक्त गरेका छन्।

शाहीका अनुसार, आन्दोलनका बेला अराजक र उग्र अभिव्यक्ति दिएर युवाहरूलाई भड्काउने व्यक्ति नै अहिले गृहमन्त्री बनेको तथ्यले नै शंका बलियो बनाएको हो। उनले भने, “गृहमन्त्री आफैंले लुटिएका हतियार राजनीतिक दलले जिम्मा लिनुपर्छ भन्ने अफवाह फैलाएर सरकारभित्रकै कमजोरी लुकाउने प्रयास गरेका छन्।”

उनका अनुसार, यस्तो गैर-जिम्मेवार धारणा सार्वजनिक गरेर गृहमन्त्रीले सरकारको सुरक्षा संयन्त्रमाथि प्रश्न उठाएको र निर्वाचन सम्पन्न गर्न असक्षम देखिएको आभास दिएको छ।

शाहीले आरोप लगाए अनुसार, गृहमन्त्रीले जेन-जी आन्दोलनका क्रममा भगाइएका कैदी र लुटिएका हतियार नियन्त्रणमा लिन सुरक्षानिकायलाई सक्रिय गर्नुपर्ने ठाउँमा उल्टै प्रहरीमाथि दबाब दिँदै अराजकतावादीलाई संरक्षण गरिरहेका छन्। उनले भने, “आफ्नै जिम्मेवारीबाट भाग्नु गृहमन्त्रीको लाचारिपन र कायरता हो।”

नेता शाहीले गृहमन्त्रीलाई अराजक शैलीमा राजनीति गर्न रोक लगाउन आग्रह गर्दै थपे, “शान्ति-सुरक्षा कायम गर्ने व्यक्ति नै समाजमा आतंक र डरको माहोल फैलाउँदै हिंसाको भाषा बोल्नु अत्यन्त खतरनाक संकेत हो।”

गृहमन्त्रीले प्रमाणबिना नेताहरू भागेको भन्ने हावा समाचार फैलाएर भ्रम सिर्जना गरिरहेको बताए। जसले राज्यको विश्वसनीयता र स्थायित्व दुवैमा प्रश्न खडा गरेको उनले बताए।

शाहीले निष्कर्षमा भने, “देशमा कानूनी शासन कायम गर्नुपर्ने जिम्मेवार व्यक्ति नै अफवाह फैलाउने र अराजकता प्रोत्साहन गर्ने भूमिकामा हुनु लोकतन्त्रका लागि घातक हो।”

प्रतिक्रिया