
दाङमा वडाअध्यक्ष र इन्जिनियरसहित १३ जना जुवाखालबाट पक्राउ
दाङ- घोराही उपमहानगरपालिका–१८ का वडाअध्यक्ष र इन्जिनियरसहित १३ जना जुवातास खेलिरहेका अवस्थामा प्रहरीले पक्राउ गरेको छ। प्रहरीले काठेकोलस्थित एक होटेलमा चलिरहेको जुवाखालमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा वडाअध्यक्ष भरतमणि अर्याल र घोराही उपमहानगरपालिकाका इन्जिनियर प्रवीण रावत समेत रहेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनीहरूसँगै कृष्णबहादुर घर्ती, पूर्व इन्सपेक्टर नारायणप्रसाद अधिकारी, मितेरी अस्पतालका सञ्चालक माधव भण्डारी, म्यानपावर सञ्चालक विक्रम के.सी., लङ्कबहादुर बुढा, सागर बुढा र राप्ती गाउँपालिका–२ का तेजप्रसाद आचार्य पनि समातिएका हुन्।
जुवाको खालबाट रु ३ लाख ४५ हजार ९१५ रुपैयाँ र तीन बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, प्रहरीले गएराति घोराही–१८ का मिरज श्रेष्ठको घरमा चलिरहेको अर्को जुवाखालमा समेत छापा मारी अनुप कशौधन, ज्ञानेन्द्र रिजाल, एकराज खत्री, र सोहेलमान मनसुरीलाई पक्राउ गरेको छ। उनीहरूको साथबाट रु ६० हजार ६४० रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले दाङ क्षेत्रका विभिन्न स्थानमा यस्ता अवैध जुवा तास क्रियाकलापमा संलग्नहरूमाथि निगरानी बढाएको जनाएको छ।



कागजपत्र |
