
डीएसपी चन्दको कमाण्डमा पौने ९ लाख नगदसहित १० जुवाडे पक्राउ
ललितपुर- ललितपुर प्रहरीले पौने ९ लाख रुपैयाँसहित १० जना जुवाडेलाई पक्राउ गरेको छ। प्रहरीले शनिबार साँझ महालक्ष्मी नगरपालिका–१, रातामकैचोकस्थित स्वाद रेस्टुरेन्टमा छापा मारी जुवा खेलिरहेका व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरी वृत्त सातदोबाटोबाट डीएसपी पूर्णिमा चन्दको कमाण्डमा खटिएको १५ जनाको प्रहरी टोलीले प्राप्त विशेष सूचनाको आधारमा तेस्रो तलामा सञ्चालन भइरहेको जुवा खेलमा छापा मारेको थियो।
प्रहरीका अनुसार सो क्रममा रेस्टुरेन्ट सञ्चालक जीवन थापासहित १० जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकासँगै प्रहरीले नगद रु. ८ लाख ७५ हजार १८५ रुपैयाँ, खुलेको ३ बुक तास र नखोलेको ५ बुक तास बरामद गरेको जनाएको छ।
पक्राउ परेकामध्ये रेस्टुरेन्ट सञ्चालक जीवन थापा (४८) चन्द्रागिरी नगरपालिका–१३ घर भई हाल महालक्ष्मी–४ स्वस्तिक टोलमा बस्दै आएका हुन्। अन्य पक्राउ पर्नेहरूमा दिपेश ऐर (३५) घोडाघोडी–१ हाल टिकाथली–५, राकेश खड्का (४९) लुभु लामाटार, मनोज बानिया (५५) सूर्यविनायक–१, समिर सुनार (४२) विदुर–३ हाल इमाडोल, पदम साउद (४२) दिपायल सिलगढी, सुर्य लामा (४२) पनौती–११ हाल महालक्ष्मी–१, रोजिन ठकुरी (४४) काठमाडौं–३२, सञ्जय खत्री (४२) खिजिदेम्बा–४ हाल भक्तपुर दुधपाटी र विजय बिष्ट (३८) इमाडोल रहेका छन्।
प्रहरीले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान जारी रहेको र जुवा खेल्ने तथा खेलाउने दुवैजनामाथि विद्यमान कानुन बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।



कागजपत्र |
