कोहली ‘डक’, रोहित ‘फ्लप’: अष्ट्रेलियासँग भारत ७ विकेटले हार्‍यो


काठमाडौं-  भारत र अष्ट्रेलियाबीचको तीन खेलको एकदिवसीय क्रिकेट श्रृंखला पर्थमा आइतबारदेखि सुरु भएको छ। पहिलो खेलमा अष्ट्रेलियाले भारतलाई सात विकेटले पराजित गर्दै १–० को अग्रता लिएको छ।

वर्षाले प्रभावित खेल २६ ओभरमा छोट्याइएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको भारतले नौ विकेटको क्षतिमा १३६ रन मात्र जोड्न सक्यो।

भारतका लागि कप्तान केएल राहुलले ३१ बलमा ३८ रन बनाए भने अक्षर पटेलले ३८ बलमा ३१ रन जोडे। नितिशकुमार रेड्डीले ११ बलमा अविजित रहँदै १९ रन थपे।

पूर्वकप्तान रोहित शर्मा र विराट कोहलीले पुनरागमन गरेका यो खेलमा दुबै ब्याटबाट असफल भए— रोहितले ८ रन बनाए भने कोहली १७औं पटक एकदिवसीय क्रिकेटमा ‘डक’मा आउट भए।

अष्ट्रेलियाका बलरहरू जोश हेजलउड, मिचेल ओवेन र म्याथ्यु कुनेमनले समान दुई–दुई विकेट लिए।

१३१ रनको परिमार्जित लक्ष्य पछ्याएको अष्ट्रेलियाले २१.१ ओभरमै तीन विकेट गुमाएर सहज जित दर्ता गर्‍यो। कप्तान मिचेल मार्शले ५२ बलमा अविजित ४६ रन बनाए, जसमा दुई चौका र तीन छक्का समावेश थिए। ओपनर जोस फिलिपले ३७ रन जोडे भने म्याट रेनस २१ रन बनाएर नटआउट रहे।

अब तीन खेलको श्रृंखलाको दोस्रो वान डे बिहीबार एडिलेडमा खेलिनेछ।

प्रतिक्रिया