
प्रहरी दिवसको पूर्वसन्ध्यामा सईमाथि कुटपिट
कञ्चनपुर- ७०औँ प्रहरी दिवसको पूर्वसन्ध्यामा कञ्चनपुरमा एक प्रहरी अधिकृतमाथि कुटपिट भएको घटना सार्वजनिक भएको छ। बिहीबार साँझ भीमदत्त नगरपालिका–९ ब्रम्हदेवस्थित महाकाली कोरिडोर मार्ग क्षेत्रमा ब्रम्हदेव प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) देवेन्द्र बहादुर चन्दमाथि कुटपिट भएको हो।
निर्माणाधीन महाकाली कोरिडोर क्षेत्रमा महेन्द्रनगरबाट जगबुढातर्फ यात्रु ओसारिरहेको बोलेरो जिपमा रहेका यात्रु र चालकले सई चन्दमाथि आक्रमण गरेका हुन्। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ।
कुटपिटबाट घाइते भएका सई चन्दको महाकाली अस्पतालमा उपचार गरिएको र राति नै डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।
स्थानीय स्रोतका अनुसार सई चन्दमाथि यसअघि पनि केही व्यवसायी तथा तस्कर समूहबाट पैसा असुलेको आरोप लाग्दै आएको थियो, यद्यपि ती आरोप प्रमाणित भएका छैनन्। चन्दका अनुसार बोलेरो चालक रमेश धामीले क्षमताभन्दा बढी यात्रु र सामान ओसारिरहेको देखेपछि उनले सोधपुछ गरेका थिए। त्यसपछि चालक र यात्रुहरूले उनीमाथि आक्रमण गरी कुटपिट गरेका थिए।
प्रहरीले घटनामा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा तेजबहादुर बोहरा र भरत जोशी रहेका छन्। तर चालक रमेश धामी भने हालसम्म फरार छन्।
कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराका अनुसार पक्राउ परेकामाथि अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ।



कागजपत्र |
