
कालीमाटीमा पुनः विषादीयुक्त अकबरे खुर्सानी फेला
काठमाडौं- राजधानीमा बिक्री हुने तरकारीमा अत्यधिक मात्रामा विषादी अवशेष फेला पर्ने घटना पछिल्लो समयमा झन् बढ्दै गएको छ। आज (बिहीबार) पनि कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि ल्याइएको अकबरे खुर्सानीमा उच्च मात्रामा विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जानकारी दिएको छ।
मकवानपुरका दुई किसानबाट बजारमा ल्याइएका उक्त अकबरे खुर्सानीमा क्रमशः ४९.०३२ प्रतिशत र ५१.४४६ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको हो। केन्द्रीय कृषि प्रयोगशालाले सोमबार कालीमाटी बजारका १७ वटा पसलबाट संकलित १७ थरी फलफूल तथा तरकारीको नमूना परीक्षण गर्दा यस्तो तथ्य सार्वजनिक गरेको हो।
परीक्षण अनुसार, उक्त खुर्सानीमा पाइएको विषादीको मात्रा सरकारले तोकेको सीमा भन्दा निकै माथि रहेको छ। सरकारले तोकेको मापदण्ड अनुसार अर्गानोफस्फेटको मात्रा ३५ प्रतिशतभन्दा कम भएमा मात्र उपभोगयोग्य मानिन्छ। ३५ देखि ४५ प्रतिशतसम्म पाइएमा केही दिन राखेपछि मात्र खान मिल्ने प्रावधान छ, जबकि ४५ प्रतिशतभन्दा बढी पाइएमा त्यस्ता तरकारी पूर्ण रूपमा उपभोगका लागि अयोग्य ठहरिन्छन्।
यसअघि पनि सोमबार मकवानपुरबाट ल्याइएको अकबरे खुर्सानीमा ५४.०७८ प्रतिशत विषादी फेला परेको थियो। त्यस्तै, गत बिहीबार कालीमाटी बजारमा बिक्रीका लागि ल्याइएका हरियो फर्सी, काँक्रो र घिरौँलामा समेत अत्यधिक मात्रामा विषादी अवशेष पाइएको थियो।



कागजपत्र |
