
निजी अस्पतालविरुद्ध स्वास्थ्यकर्मीको धर्ना, श्रम शोषण गरेको आरोप
कैलाली – सुदूरपश्चिम प्रदेशको व्यापारिक केन्द्र धनगढीमा रहेका निजी अस्पतालविरुद्ध स्वास्थ्यकर्मीहरू श्रम शोषण र न्यून पारिश्रमिकका विरोधमा आन्दोलनमा उत्रिएका छन्। उनीहरूले जिल्ला प्रशासन कार्यालयअघि धर्ना दिँदै सरकारले तोकेको पारिश्रमिक दर कार्यान्वयन गर्न माग गरेका हुन्।
स्टाफ नर्स आस्मा नेगीका अनुसार, करार सम्झौता गरेर मात्रै काममा राख्ने, सक्कल शैक्षिक प्रमाणपत्र कार्यालयले राख्न नपाइने, तोकिएको समयभन्दा बढी काम गरेमा अतिरिक्त भत्ता उपलब्ध गराउने र पारिश्रमिक बैंकमार्फत मात्र दिनुपर्ने माग राखिएको छ। माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी स्वास्थ्यकर्मीहरूले दिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २७ मंसिरमा निर्णय गर्दै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई सरकारी सरह पारिश्रमिक दिन निर्देशन दिएको थियो। त्यसअनुसार न्यूनतम तलब ३४ हजार ७३० रुपैयाँ तोकिएको छ। तर, धनगढी र अत्तरियाका नवजीवन, माया मेट्रो, सीपी, निसर्ग, नोभा, स्वस्तिक, पद्मा, कैलाली र सञ्जिवनी अस्पतालमा कार्यरत नर्स र प्यारामेडिक्सलाई मात्र १४ देखि २० हजार रुपैयाँसम्म पारिश्रमिक दिइँदै आएको छ।
श्रम शोषणविरुद्ध आवाज उठाउने कर्मचारीलाई जागिरबाट निकाल्ने र प्रमाणपत्र नदिनेजस्ता व्यवहार भइरहेको स्वास्थ्यकर्मीहरूको आरोप छ। हालै धनगढीको एक निजी अस्पतालले विरोध जनाएकी एक नर्सलाई बर्खास्त गरेको र उनलाई भविष्यमा अयोग्य घोषित गर्ने धम्की दिएको बताइएको छ।
नेपाल स्वास्थ्य सेवा नियमावली अनुसार, हप्तामा ४२ घण्टाभन्दा बढी काम गर्नुपर्ने खण्डमा अतिरिक्त सेवा र बिदा दिनुपर्ने प्रावधान भए पनि अधिकांश अस्पतालले पालन नगरेको स्वास्थ्यकर्मीहरूको गुनासो छ।
तर, निजी अस्पतालहरूको छाता संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट नेपाल (अफिन) सुदूरपश्चिमका अध्यक्ष तीर्थ पन्तले भने सबै अस्पतालले न्यूनतम पारिश्रमिक मापदण्ड मानेको दाबी गर्दै भने, “सरकार, रोजगारदाता र श्रमिकबीच १९ हजार ५५० मा सहमति भएको हो, त्यहीअनुसार अस्पतालहरूले तलब दिइरहेका छन्।”



कागजपत्र |
