बुद्ध एयरका सञ्चालक बस्नेतले खोले गतिशील लोकतान्त्रिक पार्टी


काठमाडौं- बुद्ध एयरका सञ्चालकसमेत रहेका व्यवसायी वीरेन्द्रबहादुर बस्नेत, समाजशास्त्री दिनेश प्रसाईं र अन्य व्यक्तिहरू संलग्न नयाँ राजनीतिक दल ‘गतिशील लोकतान्त्रिक पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ । बिहीबार आयोगमा दर्ता गरिएको उक्त दलको अध्यक्ष समाजशास्त्री प्रसाईं रहेका छन् भने महासचिवमा पियुषप्रसाद कायस्थ छन् । व्यवसायी बस्नेत भने पार्टीका साधारण सदस्यका रूपमा रहेका छन् ।

पार्टीको विधानअनुसार पदाधिकारीहरूले प्रत्यक्ष चुनाव लड्न नपाउने व्यवस्था गरिएको छ । त्यसैले बस्नेत नेतृत्वमा नभए पनि सदस्यका रूपमा आगामी चुनावमा उम्मेदवारी दिन सक्नेछन् ।

पार्टीले नयाँ पुस्ता र भावी पुस्ताको लागि समावेशी र समतामूलक राजनीतिक संस्कार विकास गर्नुपर्ने आवश्यकता औंल्याएको छ । पार्टीको तयारीअनुसार संरचनामा एक अध्यक्ष र पाँच जना महासचिव रहनेछन् । बाँकी सदस्यहरू विभिन्न पेशागत समूहबाट चयन गरिने छन् ।

बस्नेतले करिब पाँच–छ महिनादेखि नयाँ दल गठनबारे गृहकार्य गर्दै आएका थिए । २१ फागुनमा आगामी निर्वाचन घोषणा भएपछि उनको राजनीतिक पहलले तीव्रता पाएको हो ।

प्रतिक्रिया