
विकास बजेट दुरुपयोग प्रकरणमा सांसद सिंहसहित १६ जनामाथि मुद्दा
जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सांसद सरोजकुमार सिंह कुशवाहा पुनः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्।
सांसद विकास कोष र प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत विनियोजित बजेट दुरुपयोग गरेको आरोपमा अख्तियारले सिंहसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट निर्वाचित सिंहले आर्थिक वर्ष २०७८/७९ मा विभिन्न उपभोक्ता समिति गठन गरी ती समितिको खातामा जम्मा भएको रकम आफ्ना स्वकीय सचिव बिनोदकुमारलाल कायस्थमार्फत झिकी आफ्नै र श्रीमतीको संयुक्त खातामा जम्मा गरेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।
अनुसन्धान अनुसार, जम्मा १ करोड ३६ लाख २७ हजार ४ सय ८१ रुपैयाँ मध्ये करिब २८.२५ प्रतिशत अर्थात् ३८ लाख ५ हजार ३ सय १९ रुपैयाँ घुस र कमिसनका रूपमा सिंहले लिएको पुष्टि भएको छ। साथै, सांसद विकास कोषबाट समेत उनले ३७ प्रतिशतसम्मको कमिसन आफ्नै खातामा जम्मा गरेको प्रमाण भेटिएको बताइएको छ।
सिंहले आफ्ना पक्षका व्यक्तिहरूलाई उपभोक्ता समितिमा चयन गरी, बैठकका निर्णयहरू स्वकीय सचिव कायस्थबाटै तयार गराएको, भुक्तानी लिने व्यक्तिको नाम र मिति उल्लेख नगरी खाली चेकमा दस्तखत गराई रकम नियन्त्रणमा लिएको पाइएको अख्तियारको भनाइ छ।
त्यसैगरी, सार्वजनिक खरिद नियमावली २०६४ को नियम ९७ विपरीत सिंहले आफ्नै मान्छे प्रयोग गरी योजनाका काम सम्पन्न गराएका थिए र सो कार्यको कमिसन समेत संयुक्त खातामा जम्मा गरिएको ठहर अख्तियारले गरेको छ।
अख्तियारले यस प्रकरणमा सिंहसहित रमेश मडर, अमलेश कुमारी, दिपाराजदेवी राजपुत, भिखारी राउत कुर्मी, भुपेन्द्रकुमार झा, मन्जुदेवी पासमान, रामनाथ सहनी, स्वीकृती देवी, रामशरण खत्वे, बिभादेवी खत्वे, शम्भुकुमार मंडल, योगेन्द्र महतो, सुनयना कुमारी, यमुनाप्रसाद महतो र कौशिल्या देवी गरी १६ जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ बमोजिम कैद, जरिवाना र बिगो जफत मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।
यसअघि जेठ १२ गते अख्तियारले सिंहको घरमा छापा मार्दा विभिन्न योजनाका कागजात र मोबाइल फोन बरामद गरेको थियो। उनका स्वकीय सचिव कायस्थलाई पनि सो क्रममा पक्राउ गरिएको थियो।
पूर्वगृहराज्यमन्त्री समेत रहेका सिंह यसअघि जेठ २० गते काठमाडौंको अनामनगरबाट पक्राउ परेका थिए, तर पछि तारेखमा रिहा भएका थिए। अहिले भने विशेष अदालतमा मुद्दा दर्ता प्रक्रिया अघि बढाउन पुनः पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ।



कागजपत्र |
