
नेपालमा समातिइन् श्रीलंकाकी कुख्यात अपराधी इशारा सिउवान्डी
काठमाडौं – श्रीलंकामा भूमिगत अपराध सञ्जाल (अन्डरवल्र्ड) की चर्चित महिला सदस्य इशारा सेव्वन्दी नेपालमा पक्राउ परेकी छन्। गणेगमुल्ला संजीव हत्या प्रकरणकी मुख्य योजनाकार मानिएकी सेव्वन्दीलाई नेपाल प्रहरीले काठमाडौं उपत्यकामा पक्राउ गरेको हो।
श्रीलंकाको पेलियागोडा अपराध अनुसन्धान शाखाका सहायक प्रहरी महानिरीक्षक (एएसपी) रोहान ओलुगला र प्रहरी निरीक्षक गिहान दे सिल्वाको टोलीले नेपाल प्रहरी र इन्टरपोलको सहयोगमा गत आइतबार (अक्टोबर १३) राति भक्तपुरको थिम्बस पार्क क्षेत्रस्थित एक आलिशान घरमा लुकेकी उनलाई पक्राउ गरेको श्रीलङ्काली सञ्चारमाध्यमहरूले जनाएका छन्।
नेपाल प्रहरीको सहकार्यमा तीन दिन लामो अपरेसन सञ्चालन गरिएको थियो। उक्त अपरेसनका क्रममा सेव्वन्दीसँगै चार जना अन्य व्यक्ति समेत पक्राउ परेका छन्।
श्रीलंकाबाट बोटमार्ग हुँदै भारत, त्यहाँबाट रेलमार्ग हुँदै नेपाल
प्रहरी अनुसन्धानअनुसार, सेव्वन्दीलाई ‘जे.के. बाई’ नामका एक व्यक्तिले श्रीलंकाबाट बोटमार्ग हुँदै भारत पुर्याएका थिए। भारतमा केही समय बसेपछि उनले रेलमार्ग हुँदै नेपाल प्रवेश गरेकी थिइन्। नेपालमा प्रवेश गरेपछि काठमाडौंको भक्तपुरस्थित एक घरमा उनले शरण लिएकी थिइन्।
‘जे.के. बाई’ लाई पहिले नै पक्राउ गरिएको र उनको बयानका आधारमा सेव्वन्दीको ठेगाना पत्ता लगाइएको श्रीलंकाली प्रहरीले जनाएको छ।
पक्राउ परेकी सेव्वन्दीले नेपाल प्रहरीलाई भनिन्, “मलाई सधैं लाग्थ्यो, कुनै दिन ओलुगला सर आइपुग्नुहुन्छ र मलाई गिरफ्तार गर्नुहुन्छ भनेर। सात महिनादेखि नेपालमा लुकेर बसेकी थिएँ। अन्ततः यहीँ बस्नु भन्दा देश फर्कनु नै राम्रो लाग्यो।”
गणेगमुल्ला संजीव हत्या प्रकरणकी मुख्य योजनाकार
गत फेब्रुअरी १९ मा कोलम्बोस्थित अदालत परिसरभित्र गणेगमुल्ला संजीव नामका कुख्यात अपराधीलाई गोली हानी हत्या गरिएको थियो। यो घटनाको निर्देशन श्रीलंकाकी कुख्यात महिला अपराधी समूह नेतृ कहलने ‘केहेलबद्दरा पद्मे’ ले दिएकी थिइन्।
हत्या योजनाको स्थानीय संयोजन सेव्वन्दीले गरेकी थिइन्। उनले ‘वकिलको’ भेषमा अदालत परिसरमा प्रवेश गरी हमला समन्वय गरेको श्रीलंकाली अनुसन्धानमा खुलासा भएको छ। हत्यापछि उनी मन्नार हुँदै भारत भागेकी थिइन्।
सेव्वन्दीले संजीवलाई मार्ने योजना यसअघि पनि दुई–तीन पटक बनाएको तर सफल नभएको खुलेको छ।
श्रीलंकन माफिया जालसँँग सम्बन्ध
सेव्वन्दी श्रीलंकाको ‘पद्मे ग्याङ’ सँग आबद्ध थिइन्। सो ग्याङ मादक पदार्थ, हतियार तस्करी र फिरौतीसम्बन्धी अपराधमा सक्रिय रहेको अन्तर्राष्ट्रिय प्रहरी (इन्टरपोल) को सूचनामा उल्लेख छ।
उनले युरोप फरार हुने योजनासमेत बनाएकी थिइन्। अनुसन्धानमा खुलेअनुसार, उनले उत्तर श्रीलंकाकी ‘थक्षी’ नामकी महिलाको पासपोर्ट र तस्वीर प्रयोग गरी नक्कली भिसा बनाउन खोजेकी थिइन्।
ओलुगला टोलीको नेपाल अपरेसन
नेपाल प्रहरी र श्रीलंकाली अपराध अनुसन्धान शाखाबीच समन्वय गरेर उक्त अपरेसन सञ्चालन गरिएको थियो। नेपाल प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार, “तीन दिनसम्म निगरानीपछि उनी भक्तपुरको उच्चस्तरीय आवास क्षेत्रमा भेटिइन्। पक्राउको क्रममा उनले कुनै प्रतिरोध देखाइनन्।”
श्रीलंकाली अधिकारी ओलुगलाले पक्राउको क्षणमा उनलाई ‘सेव्वन्दी, कस्ती छ्यौ?’ भनेर सोध्दा उनले ‘सर, अन्ततः तपाईं आउनुभयो’ भन्दै लामो सास फेरेकी थिइन्।
नेपाल प्रहरीले पक्राउ परेकी सेव्वन्दी र उनका सहयोगीहरूलाई अस्थायी हिरासतमा राखेको र श्रीलंकामा सुपुर्दगी प्रक्रियाका लागि इन्टरपोलमार्फत कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।



कागजपत्र |
