
सल्यानमा जीप दुर्घटना हुँदा ८ जना घाइते, चालकको अवस्था गम्भीर
दाङ – सल्यानमा बोलेरो जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
जिप्रका सल्यानका इन्स्पेक्टर रेशम खत्रीका अनुसार खलंगाबाट शारदा नगरपालिका-९ सुनचौर जाँदै गरेको लुम्बिनी प्रदेश ०२-००१ च ०१९६ नम्बरको बोलेरो जीप ज्वालापुरमा दुर्घटना भएको हो ।
गाडी चालक शारदा नगरपालिका-९ का २७ वर्षीय सुरेन्द्र कवँर, सुनचौरका ७२ वर्षीया भोटीकुमारी बुढाथोकी, १७ वर्षीय कुलबहादुर बुढा, ७१ वर्षीय लालबहादुर भण्डारी, २१ वर्षकी मन्जरी राना र उनकी ५ महिनाकी छोरी एलिशा राना, २६ वर्षीय सुशिल कवँर र ४८ वर्षीय भुपबहादुर विक घाइते भएका छन् ।
घाइतेमध्ये चालक सुरेन्द्र कवँरको अबस्था गम्भीर रहेको र अन्य सबैको अवस्था मध्यम रहेको खत्रीले बताए । घाइतेमध्ये ३ जनाको जिल्ला अस्पताल सल्यान र ५ जनाको श्रीनगरस्थित कर्णाली अस्पतालमा उपचार भैरहेको छ ।
जीप अनियन्त्रित भएर सडकदेखि करिब ६० मिटर तल खसेको थियो ।



कागजपत्र |
