दशैंको रमाइलोले जन्माएको अपहरणको भ्रम


कैलाली- दशैं मनाउन कञ्चनपुर गएका साथीबीचको सामान्य विवादले ‘अपहरण नाटक’को रुप लिएको छ।

धनगढी उपमहानगरपालिका–४ बोराडाँडीका बीरेन्द्र चन्द बुधबार राति सम्पर्कविहीन भएपछि परिवारले उनी अपहरणमा परेको भन्दै प्रहरीलाई खबर गरेको थियो। परिवारको फोनपछि प्रहरी उच्च सतर्कतामा रह्यो। कैलालीका एसपी नरेन्द्र चन्द आफैं खोजीमा जुटे, साथीहरुमाथि नियन्त्रण लिएर अपहरण अनुसन्धान अगाडि बढाइयो।

तर बिहीबार बिहान गेटा मेडिकल नजिकै बीरेन्द्र चन्द सकुशल भेटिए। अनुसन्धानपछि खुलेको वास्तविकता फरक नै थियो। यो कुनै अपहरण नभई साथीबीचको पैसासम्बन्धी विवादले बढाएको गलत हल्ला मात्रै।

प्रहरीका अनुसार चन्दसहित बिनोद शाह, भरत बोहरा र गोविन्द शाक्य बुधबार कञ्चनपुर गएका थिए। फर्किने क्रममा गुलरियामा खाजा खाने बेला पैसाको विषयमा झगडा भयो। हाताहातसम्म पुग्दा चन्दको मोबाइल फुट्यो। रिसाएका चन्द त्यहीँबाट एम्बुलेन्ससँग लिफ्ट मागेर मालाखेती प्रहरी कार्यालय पुगे। केहीबेरमै अन्य साथी पनि त्यहाँ पुगेपछि प्रहरीको पहलमा उनीहरूबीच सम्झौता भएको थियो।

तर, चन्द राति घर नफर्केपछि परिवारले अपहरण भएको ठानेर प्रहरीलाई खबर गरे। वास्तविकमा भने उनी गेटामा आफन्तको घरमा बसिरहेका रहेछन्।

प्रहरीले चन्दले सुरुमा साथीहरूले पैसा पनि चोरी गरेको दाबी गरे पनि अन्ततः मिलापत्र भयो। साथीहरूले नयाँ मोबाइल किनिदिने सहमतिपछि सबैलाई छाडिएको छ।

प्रहरीले अपहरणको हल्ला निराधार भएको भन्दै यसलाई “सामान्य विवादलाई अपहरणको नाटक बनाइयो” भनेर व्याख्या गरेको छ।

प्रतिक्रिया