गृहमन्त्री अर्याल सिआईबीमा, ‘राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै फाइल खुल्छन्’


काठमाडौं — गृहमन्त्री ओमप्रकाश अर्याल निरिक्षणका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) पुगेका छन् । निरिक्षणपछि गृहमन्त्री अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै प्रकारका फाइलहरू अनुसन्धान हुने बताएका छन्।

शुक्रबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) कार्यालयको निरीक्षणपछि पत्रकारसँग कुराकानी गर्दै गृहमन्त्री अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका फाइलहरू अघि बढ्ने बताएका हुन्।

‘सबै फाइलको ब्रेक थ्रु हुन्छ। कतिपय ठाउँबाट राजनीतिक कनेक्सनका आधारमा जे कुरा रोकिएका थिए। त्यो हुँदैन अब। यो सरकारको म्यान्डेट नै सुशासन हो। सुशासनविना शान्ति सुरक्षा हुन सक्दैन। शान्ति सुरक्षा भएन भने ६ महिनाभित्र सुरक्षा दिन पनि सकिँदैन,’ उनले भने।

उनले पहिले राजनीतिक कनेक्सनका आधारमा सुशासनमा आएका अवरोध हटाउन निर्देशन समेत दिएको बताएका छन्।

सिआईबीको कमाण्ड अन्तरिम सरकार गठन भएपछि अतिरिक्त प्रहरी महानिरिक्षक (एआईजी) डा. मनोजकुमार केसीले सम्हालेका छन् । संगठनभित्र अनुसन्धानमा दक्ष अधिकृत मानिएका डा. केसीको आगमनसँगै लामोसमयदेखि रोकिइराखेका विभिन्न फाइलहरु खुल्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया