
ओलीसहित शीर्ष नेताहरूको पासपोर्ट रोक्का हुने सम्भावना
काठमाडाैं- सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ। यो कदम जेनजी आन्दोलन दमनमा संलग्न नेताहरू र सम्पत्ति शुद्धीकरण तथा भ्रष्टाचार अनुसन्धानको दायरामा रहेका व्यक्तिहरूको लागि लिइँदैछ। स्रोतका अनुसार ओली, निवर्तमान गृहमन्त्री नेता रमेश लेखक, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्व ऊर्जामन्त्री दीपक खड्का, माओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायतको नाम वाचलिस्टमा रहेको छ।
सरकारले अध्यागमन विभागसँग पासपोर्ट रोक्का प्रक्रिया, कानुनी आधार र आवश्यक कागजातबारे छलफल गरिसकेको छ। कानुन अनुसार, अनुसन्धानमा रहेका व्यक्तिका लागि राहदानी रोक्का गर्न सकिने व्यवस्था छ। यसक्रममा गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगसँग पनि परामर्श भइरहेको छ।
यसअघि जलेको घरमा भेटिएको नगद रकमको आधारमा सम्पत्ति शुद्धीकरण विभागले दुवै दलका नेताहरूको अनुसन्धान अघि बढाएको छ। देउवा र खड्काको घरमा पनि मुचुल्का उठाइएको छ। आयोगले जेनजी आन्दोलनको दमनमा संलग्न कार्यकारी नेतृत्वमाथि अलग छानबिन गर्ने तयारी गरेको छ।
हालसम्म कुनै नेताको पासपोर्ट रोक्का भएको छैन, तर प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ। आवश्यक कानूनी पत्राचार भएपछि सरकारले शीघ्रै पासपोर्ट रोक्का कार्यान्वयन गर्न सक्नेछ।



कागजपत्र |
