
बग्गीखानाबाट लुटिएका दुई पेस्तोलसहित ४ युवक पक्राउ
कैलाली— जेनजी आन्दोलनका क्रममा लुटपाटमा परेका दुई वटा पेस्तोल र २८ राउन्ड गोलीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले गोरीगंगा नगरपालिका–६ चैमालाबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा गोरीगंगा नगरपालिका–१ का १९ वर्षीय समीर खड्का र आभाष चन्द, गोरीगंगा–३ का २२ वर्षीय जीवेश सापकोटा र हिमाल आचार्य रहेका छन्।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दका अनुसार उनीहरूको साथबाट टाइप–५४ मोडलको पेस्तोल, एक रिभल्भर र २८ राउन्ड गोली बरामद गरिएको हो।
प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाले ती हतियार जेनजी आन्दोलनका क्रममा ट्राफिक महाशाखा बग्गीखानाबाट लुटिएको बयान दिएका छन्।
पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि अपराध महाशाखा काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
