
गोली लागेर ब्यारिकेडमा ढलेका युवकको अवस्था कस्तो छ ?
काठमाडाैं- जेन-जी आन्दोलनको पहिलो दिन, भदौ २३ गते। माइतीघरदेखि नयाँ बानेश्वरसम्म धुवाँ, अश्रुग्याँस र गोलीको आवाजले आकाश गुन्जिएको थियो। त्यहीबीच, एक तस्बिर सामाजिक सञ्जालमा आगोझैँ फैलियो। तस्बिरमा थिए प्रहरीको गोली लागेर ब्यारिकेडमा अडेस लगाउँदै ढलिरहेको एक युवा। उनी थिए दैलेखका २८ वर्षीय दिपेन्द्र बस्नेत।
रोजगारीको सिलसिलामा काठमाडौं आएका उनले आन्दोलनमा सहकर्मीहरूसँगै सहभागिता जनाएका थिए। तर, त्यस दिनको रक्तपातले उनको जीवन नै धरापमा पार्यो। टाउकोमा गोली लाग्दा उनी रगताम्य हुँदै सडकमा लडिरहेको दृश्यले हजारौँ नेपालीको मुटु छियाछिया बनाइदियो।
घाइते दिपेन्द्रलाई तत्कालै माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल पुर्याइयो। चिकित्सकहरूले प्रारम्भिक अवस्था “नाजुक” भनेका थिए। तर, चमत्कारै भइसकेको छ। आज उनी बाँचिरहेका छन् र स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ।
अभियन्ता केपी खनालले अस्पतालमा भेटेका अनुभव सामाजिक सञ्जालमा बाँडेका छन्। उनले लेखेका छन्, “आन्दोलनकै दिन जसको तस्बिरले धेरैलाई पीडा दिएको थियो, उनी अहिले बाँच्नुभएको छ। स्वास्थ्यमा सुधार भइरहेको छ। यो खुसी बाँड्न चाहें।”
खनालका अनुसार, भेट्दा दिपेन्द्रलाई बाहिरको अवस्था थाहा थिएन, तर हात समाउँदा उनका आँखा र मनमा जीवन लडाइँ अझै जारी रहेको अनुभूति भयो।
दिपेन्द्रका बुवा डिल्ली बस्नेतले छोरा ढलेको क्षण सम्झँदै भने, “आन्दोलनको दिन यही अवस्थामा थियो मेरो छोरा भन्दै देखाइएको तस्बिरले मुटु चिरियो। तर अहिले सुधार भइरहेको खबरले खुसी दियो।”
हाल अन्नपूर्ण न्युरो अस्पतालमा दिपेन्द्रकी श्रीमती सङ्गीता कुमारी खड्का बस्नेत र ४ वर्षीय छोरा असिम बस्नेत कुरुवामा छन्। परिवारका सदस्यहरू निरन्तर स्वास्थ्य सुधारको प्रार्थना गरिरहेका छन्।
सामाजिक अभियन्ता र समूहहरूले अस्पताल पुगेर परिवारलाई सान्त्वना दिइरहेका छन्। “हामी नेपाल” लगायतका अभियानमार्फत सहयोग र साथका सन्देश आइरहेका छन्।



कागजपत्र |
