
डिएसपी भन्दै जेनजी आन्दोलनमा मारिएका जवानको अन्तिम टिकटक– ‘अब घर आउन ४ दिन बाँकी’
काठमाडाैं- जेनजी आन्दोलन सुरु हुनुअघि दुई दिन अगाडि प्रहरी जवान उत्तम थापाले टिकटकमा एउटा भिडिओ राखेका थिए। श्रीमतीसँगको फोटोमा उनले क्याप्सन लेखेका थिए– ‘अब घर आउन ४ दिन बाँकी।’ श्रीमतीलाई सम्झिँदै उनले रोजेको गीत थियो – ‘झल्को आउँदा यही फोटो हेरी, जोवन धानी बस है मयाले…’

घर जाने उत्साहमा देखिएका उत्तम अब कहिल्यै फर्किने छैनन्। गत मंगलबार राजधानीमा भएको जेनजी आन्दोलनको क्रममा ‘गोली चलाउन आदेश दिने डीएसपी’ भन्दै आक्रोशित भीडले उनलाई निर्घात कुटपिट गर्यो। रगताम्य अवस्थामा देखिएको उनको भिडिओ अहिले टिकटकदेखि फेसबुकसम्म भाइरल छ। तर त्यो भिडिओको व्यक्ति डीएसपी होइन, निर्दोष प्रहरी जवान उत्तम थापा थिए।
दार्चुलाको लेकम गाउँपालिका–३ गुमाखोली घर भएका ३२ वर्षीय थापा ९ वर्षअघि प्रहरी सेवामा प्रवेश गरेका थिए। उनका बुबा हरिसिंह थापा ७ वर्षअघि सुगरका कारण बितिसकेका थिए। भाइ महेशको पनि गत वर्ष भीरबाट लडेर मृत्यु भयो। त्यसबेला भाइलाई सम्झिँदै उत्तमले टिकटकमै लेखेका थिए– ‘दैव पनि कति निष्ठुरी हुने रैछन्।’
अब ९ महिनाभित्रै भाइपछि दाइको पनि मृत्यु हुँदा ५७ वर्षीया आमा निर्मला शोकमै बेहोस पर्छिन्। गाउँपालिका–३ का वडाध्यक्ष तथा काका सुरेश थापाले भने, ‘उनीहरूको आमा एक्लै हुनुहुन्छ। सात–आठ महिनाअघि भाइ बित्यो, अब ठूलो छोरा पनि गयो। परिवारको सहारा नै ढलेको छ।’
एक्लिएकी श्रीमती, छैन सन्तान
उत्तम र श्रीमती सुस्मिताले करिब ६ वर्षअघि विवाह गरेका थिए। तर सन्तान भने थिएन। अहिले श्रीमान गुमाइसकेपछि उनी एक्लिएकी छन्। ‘अब मेरो जीवन के गर्ने?’ भन्दै उनले किरियास्थलमै रुंदा गाउँभर आँसु झर्यो।
थापाको परिवार कृषिमा भर पर्थ्यो तर जमिन धेरै थिएन। गाउँमा कच्ची घर, सीमित खेतबारी। घरको सबै जिम्मेवारी उत्तमकै काँधमा थियो। काठमाडौँ सरुवा हुनुअघि उनी कैलालीमा खटिएका थिए। चार–पाँच महिनामात्रै राजधानी आएर ड्युटी थालेका थिए। तर, त्यही ड्युटीले उनलाई मृत्युसम्म पुर्यायो।
उत्तमको शव पशुपति घाटमा अन्त्येष्टि गरिएको छ। काका रुपसिंह थापा महेन्द्रनगरमा किरिया बसेका छन्। उनकाे गाउँ लालीदेखि सिंगो दार्चुला जिल्ला नै शोकमा डुबेको छ।



कागजपत्र |
