पोखराका मेयरको घरमा रास्वपाका कार्यकर्ताले आगजनी गरेकाे पुष्टि


कास्की – पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको घरमा भदौ २४ गते दिउँसो तोडफोड र त्यसै राति आगजनी भएको घटनामा रास्वपा कार्यकर्ताको संलग्नता पुष्टि भएको छ। पोखरा–९ नयाँबजारस्थित मेयर आचार्यको घरमा एउटा समूहले तोडफोड गरेको थियो भने अर्को समूहले आगजनी गरेको थियो।

प्रारम्भिक अनुसन्धानअनुसार राति भएको आगजनीमा रास्वपा पोखरा–१० का सभापति चन्द्रबहादुर थापा संलग्न रहेको पाइएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा थापाले घरभित्र रहेका सामग्री जलाएको देखिन्छ।

यसपछि रास्वपा गण्डकी प्रदेश अनुशासन आयोगले उनलाई सोमबार निलम्बन गरेको छ। आयोग प्रमुख योगेन्द्र केसीका अनुसार पार्टीको आचारसंहिताभन्दा बाहिर रहेर अवाञ्छित गतिविधिमा संलग्न देखिएकाले थापा जिम्मेवारीबाट निलम्बन गरिएको हो।

थापाले फेसबुकमा स्टाटस लेख्दै आफ्नो कमजोरी स्वीकार गरेका छन्। उनले भनेका छन्, “उत्तेजित भीडकै कारण मैले केही गलत गरेको हुनसक्छ। म संयोगवश त्यहाँ पुगेको थिएँ, घर भित्र जलाउँदा आसपासका अरू घरलाई क्षति पुग्ने देखेपछि भित्रको सामग्री बाहिर निकालेँ।”

मेयर आचार्यले प्राप्त भिडियो हेर्दा घर र महानगर दुवै स्थानमा रास्वपाका व्यक्तिहरू संलग्न रहेको बताएका छन्।   उनले ३ वर्ष मेयर हुँदा अनैतिक काम नगरेको, आफ्नो घर २० वर्षअगाडि बनाएको र सबै मासिक सुविधा विद्यार्थी शिक्षादान र सामाजिक क्षेत्रमा खर्च गर्दै आएको स्पष्ट पारे।

प्रतिक्रिया