
नेपाली कांग्रेसले जेनजी आन्दोलनमा भएकाे क्षतिको विवरण सङ्कलन गर्ने
काठमाडौं – नेपाली कांग्रेसले मङ्गलबारदेखि भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा पार्टी कार्यालयमा पुगेको क्षतिको विवरण सङ्कलन सुरु गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय आन्दोलनका क्रममा जलाएर ध्वस्त पारिएकोले सोमबारसम्म कार्यालय सञ्चालन गर्न नपाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
मुख्यसचिव पौडेले भने, “जलेको केन्द्रीय कार्यालयमा काम गर्न अस्थायी संरचना बनाएका छौँ। मङ्गलबारदेखि मुलुकभरका पार्टी संरचनामा भएका क्षतिको विवरण सङ्कलन थाल्नेछौँ।”
जेनजी आन्दोलनका क्रममा कांग्रेसका केन्द्रीय कार्यालयसहित अधिकांश प्रदेश र जिल्लाका कार्यालयमा आगजनी र तोडफोड भएको थियो। आन्दोलनकारीले पार्टीका सांसद तथा पूर्वमन्त्रीहरूको निजी निवासमा समेत तोडफोड र आगजनी गरेका थिए।
आन्दोलनका क्रममा सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा पार्टी केन्द्रीय सदस्य डा. आरजु राणालाई बुढानीलकण्ठस्थित निवासमा कुटपिट गरिएको थियो। उनीहरूको हाल उपचार भइरहेको छ। देउवाको निवास पनि आन्दोलनकारीहरूले जलाएर ध्वस्त पारेका थिए।



कागजपत्र |
