
काठमाडौंमा ‘विट टु वृत्त’ अभियान
काठमाडौं- काठमाडौं प्रहरीले ‘प्रहरी विट टु वृत्त’ अभियान सुरू गरेको छ। समुदायस्तरमै शान्ति सुरक्षा कायम गर्न प्रहरीको सबैभन्दा सानो इकाइ विट भएकाले सो अभियान थालिएको हो।
काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार, अभियानअन्तर्गत विटबाट खटिने प्रहरीका लागि आवश्यक भौतिक संरचना मजबुत बनाइनेछ र यसले सुरक्षामा खटिने प्रहरी कर्मचारीको मनोबल उच्च बनाउनेछ।
यसैक्रममा एसएसपी अधिकारीले काठमाडौं महानगरपालिका–१८, डल्लुस्थित नयाँ विट भवनको उद्घाटन गरेका छन्। वडाको सहयोगमा जीर्ण अवस्थामा रहेको पुरानो विटलाई नयाँ स्वरूपमा पुनर्निर्माण गरिएको हो। उक्त विट प्रहरी वृत्त जनसेवाअन्तर्गत पर्छ। यसको निर्माण वृत्त प्रमुख डीएसपी कृष्ण चन्दको पहलमा सम्पन्न भएको हो।
विट उद्घाटन समारोहमा एसएसपी अधिकारीले काठमाडौंका अन्य जीर्ण अवस्थामा रहेका विटहरूको भौतिक संरचना निर्माणका लागि पनि वृत्त प्रमुखहरूलाई निर्देशन दिएका छन्। पछिल्लो समय जनसेवा प्रहरी कार्यालयले जीर्ण बन्दै गएका प्रहरी कार्यालयहरूलाई चरणबद्ध रूपमा पुनर्निर्माण गर्दै आएको छ।
काठमाडौं उपत्यकामा हाल ७३ प्रहरी विट रहेका छन्, जसमा करिब दुई दर्जन अझै जीर्ण अवस्थामा छन्।



कागजपत्र |
