उत्कृष्ट कार्यशैलीका साथ ‘सेलिब्रेटी’ अफिसरका रुपमा स्थापित हुँदै एसएसपी अधिकारी


हरेक नेपालीसँग पुग्ने सबैभन्दा बलियो सरकारी संयन्त्र हो नेपाल प्रहरी । यतिबेला नेपाल प्रहरीमा ७५ हजार बढी कार्यरत छन् । ७० औैं प्रहरी दिवस मनाउने संघारमा रहेको नेपाल प्रहरीमा कार्यरत हरेक प्रहरीको अब्बल र कर्तव्यनिष्ठ भएर काम गर्ने चाहना हुन्छन् । त्यसमा धेरै असफल हुन्छन्, तर केही अत्याधिक सफल । केहीले मात्र शान्ति सुरक्षा कायम गरेर अपराधीहरुको दोहोलो काढ्न सक्षम हुन्छन्, उनीहरुले नै जनताको बीचमा उत्कृष्ट ठहर्छन्, ७५ हजारमध्ये एक दशक यताका थिए– नवराज सिलवाल, रमेश खरेल अनि सर्वेन्द्र खनाल ।

नवराज सिलवाल प्रहरीमा एउटा यस्तो नाम हो, जसको कमाण्डिङ क्षमताका कारण हरेक प्रहरीले गर्व गर्न लायक काम गरेका थिए । अवकाशपछि राजनीतिमा सक्रिय रहेका सिलवाललाई अहिले पनि राजनीतिज्ञ भन्दा पनि सफल प्रहरी भनेर जनताले चिन्ने गर्दछन् । प्रहरीमा बहालरहँदा संगठन प्रमुखका रुपमा हेरिएका सिलवालले आईजीपी नभएपछि २०७४ सालमा राजीनामा दिएका थिए ।

त्यस्तै अर्का अधिकृत हुन् रमेश खरेल । संगठनको प्रतिष्ठाका लागि ‘कठोर’ अधिकृतका रुपमा रहेका खरेल पनि प्रहरीमा रहँदा संगठनका अनुशासित अधिकृतका रुपमा चिनिन्थे । काठमाडौं प्रहरीको जिम्मेवारी लिएर बसिरहँदा हजारौं नेपालीहरु क्यासिनो गएर घरवारबिहीन भइरहेको अवस्थामा उनले क्यासिनोमा नेपाली प्रवेशमा कडाई गरेका थिए । सम्भव भएसम्म सर्वसाधारणका गुनासाहरु आफैं सुन्ने खरेलले संगठनमा रहँदा गरेका उत्कृष्ट कार्यले गर्दा उनको नाममा चलचित्र समेत बनेको थियो । संगठन प्रमुखको रुपमा हेरिएका खरो स्वभावका खरेलले आईजीपी नभएपछि डिआईजीबाट राजीनामा दिएका थिए ।

त्यस्तै प्रहरीका अर्का सफल अधिकृत हुन् सर्वेन्द्र खनाल । जसले कार्यस्थलमा रहँदा गरेको उत्कृष्ट कार्यले गर्दा संगठनको सर्वोच्च पद प्रहरी महानिरिक्षक (आईजीपी) सम्म पुगे । खनाल पनि काठमाडौं प्रहरी प्रमुख हुँदा राजधानीमा व्याप्त भइरहेको गुण्डागर्दीलाई नियन्त्रण गर्न मुख्य भूमिका खेले । गुण्डागर्दीकै कारण राजधानीबासीलाई डर र त्रासका साथै व्यवसाय गर्न पनि त्रासको वातावरणलाई साम्य पार्न उनले खेलेको भूमिकाको आम जनताले सधैं सम्झिने अधिकृत बन्न सफल भए । त्यसैको फलस्वरुप हरेक नागरिकले नेपाल प्रहरी भन्ने बित्तिकै यी ३ को नामलाई ‘अमेट’ रुपमा लिने गर्दछन् ।

प्रहरीका उत्कृष्ट अधिकृत भन्नेबित्तिकै अहिलेसम्म नवराज सिलवाल, रमेश खरेल, सर्वेन्द्र खनाल भनिने ठाउँमा अब थपिने क्रमको अर्को नाम छ– एसएसपी विश्व अधिकारी

२०८१ को मध्य माघदेखि काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी लिएका अधिकारीले पछिल्ला दिनमा काठमाडौंको अपराध नियन्त्रणका लागि उल्लेखनीय काम गर्दै आएका छन् । राजधानीबासीलाई शान्तिसँग बस्न सक्ने वातावरण तय गर्नु अधिकारीको प्रमुख दायित्व हो यतिबेला ।

केन्द्रीय अनुसन्धान ब्यूरो, उपत्यका अपराध अनुसन्धान कार्यालय रहेको अवस्थामा अधिकारी कमाण्डेड काठमाडौं परिसरले गरेका केही अप्रेशनहरु ज्यादा प्रभावकारी देखिएका छन् । अपराध र अपराधमा संलग्नहरुको सूचनाका लागि फरक किसिमको अवधारणाका साथ कमाण्ड गरिरहेका छन् । नेपाल प्रहरीले अपराध अनुसन्धानका लागि छुट्टै विभाग रहेको अवस्थामा अधिकारीले गरेका पछिल्ला केही ‘अप्रेशन’हरुले ती विभागहरुलाई ‘च्यालेन्ज’ दिइरहेका छन् ।

अदालतको फैसला कार्यान्वयन र फरार प्रतिवादीहरुलाई पक्राउ गर्ने विशेष अभियान नै चलाएका एसएसपी अधिकारीले अपराधसम्बन्धी सूचना संकलनका लागि राजधानीमा रहेका सयौं वर्कसप सञ्चालकहरुसँग अन्तरक्रिया गरेका थिए । जसले गर्दा पछिल्ला दिनमा राजधानीमा घटेका जघन्य अपराधमा संलग्नहरु पक्राउ पर्दै आएका छन् । अपराधमा संलग्न रहेका सवारी साधनबारे तत्काल सूचना पाउनका लागि वर्कसप सञ्चालक र मिस्त्रीहरुसँगको ग्रुप नै बनाएका छन् एसएसपी अधिकारीले । त्यसका साथै अधिकारीले मोबाइल पसल सञ्चालक र राइड सेयरिङ कम्पनीहरुसँग पनि समन्वय गरिरहेका छन् ।

अपराध नियन्त्रणका लागि फरक शैली अपनाएर जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिन सफल एसएसपी अधिकारी परेका बेला आफैं फिल्डमा खटिएका प्रशस्तै उदाहरण छन् । नागरिकले शान्ति सुरक्षा प्रत्याभूत गर्न सक्ने वातावरण बनाउन ‘अपरेशन–९’ योजनाका साथ अगाडि बढीरहेका छन् ।

विशेष सूचनाका आधारमा मंगलबार मात्रै अधिकारीको कमाण्डले राजधानीको एक घरबाट ४ करोड २५ लाख नगद र झण्डै ८ किलो सुन बरामद गर्न सफल बन्यो । यसबाट अधिकारीको फरक किसिमको सुचना संयन्त्रले प्रभावकारी कार्य गरेको पुष्टी हुन्छ र भविष्यमा यस्तै किसिमको उपलब्धी हासिल गर्न सक्छ भन्नेमा कुनै द्विविधा छैन ।

‘प्रहरी मेरो साथी’ का अवधारणाकर्ता समेत रहेका अधिकारी संगठनभित्र कानुनविज्ञ मानिन्छन् । व्यस्त समयका बाबजुद एसएसपी अधिकारी संगठनको नीति नियम बनाउने कार्यमा समेत प्रत्यक्ष सहभागी हुन्छन् । मुलुक, संगठन र जनताको सेवाका लागि जस्तो सुकै परिस्थितिमा पनि अडिग रहने एसएसपी अधिकारी पछिल्लो समयमा काठमाडौंबासीको सुरक्षाका लागि दिनरात नभनी खटिँदै आएका छन् । मातहतका कार्यालयहरुमा बेलाबेलामा छड्के समेत जाने गरेका अधिकारी संगठनभित्र रहेर उत्कृष्ट काम गर्नेलाई पुरस्कृत र गलत काम गर्नेलाई दण्ड दिन पनि दृढ छन् ।

अहिलेसम्म काठमाडौंका २ दर्जन भन्दा बढी जघन्य अपराधका घटनाको सफल अनुसन्धानपश्चात् प्रहरी संगठनदेखि राज्यले उनलाई सक्षम प्रहरी अधिकृतका रुपमा चित्रण गरेको छ ।

एसपीमा रहँदा मोरङ र कैलालीको कमाण्ड गरेका अधिकारी उत्कृष्ट कार्यले नै एसएसपी बढुवामा आफ्नो ब्याचमा पहिलो नम्बरमा बढुवा भएका थिए । पछिल्ला दिनमा अधिकारीको कार्यशैलीका कारण भविष्यमा संगठनले काबिल र उत्कृष्ट नेतृत्व पाउने सम्भावना देखिएको छ ।

प्रतिक्रिया