कोरोनासँगै देशैभरी बढ्यो वायु प्रदुषण


काठमाडौं – नयाँ प्रजातिको कोरोनाभाइरस (कोभिड–१९) को महामारी फैलिँदै क्रमसँगै देशैभरी वायु प्रदुषणको चर्चा छ। पछिल्लो समय नेपालमा कोरोनासँगै वायु प्रदुषण बढ्दो अवस्थामा छ।

कोरोनाको कारण सरकारले सर्वसाधारणलाई न्यूनतम स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेको छ। संघीय सरकारले जारी गरेको निर्देशिका पालनामा जोड दिँदै नाकाबाट भइरहेको आउजाउमा कडाइ समेत हुन थालेको छ।

भीड हुने कार्यक्रमलाई निरुत्साहित गर्ने पनि सातवटै प्रदेश सरकारले जनाएको छ । यसका लागि जिल्ला प्रशासन र स्थानीय सरकारसँग समन्वय गरेर रोकथाम तयारीबारे छलफल भइरहेको छ।

पछिल्लो २४ घण्टामा नेपालमा १ सय ७६ जना कोरोना संक्रमित थपिए । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार ९ सय ४४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ६ सय ७२ जना सक्रिय संक्रमित छन्।

पछिल्लो समय छिमेकी मुलुक भारत कोरोनाको ‘हटस्पट’ बनेको छ।संक्रमण भित्रिसकेपछि मात्र कडाइ गर्ने र स्वास्थ्य सामग्री प्रयोगका लागि दबाब दिने प्रवृत्तिले समस्या निम्त्याउने भएकाले अहिले नै पूर्ण तयारीका साथ काम गर्नुपर्नेमा सरकार लागिपरेको छ।

तर, पछिल्लो दुई सातायता वायु प्रदुषणको मात्रा ह्वातै बढ्दा सरकार मौन छ। वातावरण विभागको तथ्याकंअनुसार सोमबार बिहान सबैभन्दा धेरै वायु प्रदुषण धनगढीमा छ। धनगढी एयर क्वालिटी इन्डेक्स (एक्युआई) ४२९ पुगेको छ।

त्यस्तै दोस्रो नम्बरमा चितवनको भरतपुरको एक्युआई ३९८ छ भने तेस्रो नम्बरमा ललितपुरको भैंसेपाटीमा एक्युआई ३२५ छ। वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्वुआई)मा मापन गरिन्छ।

गत बिहीबार साँझ पूर्वी तथा मध्य नेपालमा भएको वर्षाले प्रदषण केही घटेपनि आइतबारदेखि फेरि प्रदुषण बढेको हो। वायु प्रदुषणले खतराको तह पार गरेपछि गत साता सरकारले देशभरिका विद्यालय बन्द गरेपनि प्रदुषण कम गर्नतिर सरकारले अग्रसरता देखाएको छैन।

विज्ञहरूले वायु प्रदुषणको असरबाट जोगिन सकभर घरबाहिर ननिस्किने, निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्ने, बालबालिका र वृद्धवृद्धाको विशेष हेरचाह गर्नुपर्ने सुझाव दिएपनि सरकारले चासो नदिँदा वायु प्रदुषणबाट ठूलो जोखिम निम्तिरहेको छ।

यसपालि किन यस्तो भइरहेको छ भन्ने प्रश्नका धेरै कुरा प्रकृतिको रहस्यमै छन्। विज्ञहरूले सुख्खा हिउँद, अत्याधिक डढेलो, कमजोर पश्चिमी वायु र प्रदुषणले अहिलेको अवस्था आएको बताएका छन्। हुनपनि पछिल्लो केही महिनायता देशभरीका ४०० भन्दा बढी जंगलमा आगलागी भइरहेको छ।

डढेलोको मुख्य याम अझै आउनै बाँकी छ। अहिलेको समस्याको प्रमुख कारण यसपालिको सुख्खा हिउँद पनि हो। अर्थात यसपालि नेपालमा पानी कम र आगो धेरै भएर पनि यस्तो परिस्थिति उत्पन्न भएको विज्ञहरुको दावी छ।

पश्चिमी वायुले ल्याएको धुलो, हाम्रो देशभित्रकै डढेलोबाट निस्केको धुँवा, सवारी साधन, उद्योग र इँटाभट्टाले फालेको धुँवाधुलो हाम्रो वरिपरि घुमिरहेको छ। त्यसले काठमाडौंसहित देशभरि वायु प्रदुषणको मात्रा ह्वात्तै बढाइदिएको छ।

यसरी अति कम पानी, अधिक ढडेलो र कम हावाका कारण यसपालि काठमाडौं र नेपालका विभिन्न ठाँउमा अप्रत्याशित रूपमा प्रभावित भएका छन्। त्यसको मार हामीले भोगेका छौं। यस विषयमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ।

वायु प्रदुषण हटेर मौसम सफा हुन कि बेस्सरी हावा चल्नुपर्छ, कि ठूलो पानी पर्नुपर्छ वा चर्को घाम लाग्नुपर्छ।

प्रतिक्रिया