भारतमा १ करोड मुल्यको भालुकाे पित्तसहित नेपाली पक्राउ


काठमाडाैं- भारतको उत्तराखण्डबाट भालुको पित्तसहित एक जना नेपाली पक्राउ परेका छन्।  चेकजाँचका क्रममा पिथौरागढ प्रहरीले डोल्पा घर भएका सुर्यबहादुर बुढाथोकीलाई ठूलो मात्रामा तस्करीको सामानसहित पक्राउ गरेको हो।

धारचुला कोतवाली प्रहरी, एसओजी र वन विभागको संयुक्त टोलीले धारचुलातर्फ जाँदै गरेका बुढाथोकीलाई चेकजाँच गर्दा २ किलो ३०० ग्राम चरेस र १७५ ग्राम भालुको पित्त बरामद गरेको भारतीय प्रहरीले जनाएको छ।

बरामद गरिएको चरेसको अन्तर्राष्ट्रिय बजार मूल्य करिब ४ लाख ६० हजार भारतीय रुपैयाँ अनुमान गरिएको छ भने भालुको पित्तको मूल्य करिब १ करोड भारतीय रुपैयाँ रहेको बताइएको छ।

पक्राउ परेका बुढाथोकीमाथि एनडीपीएस ऐन ८ र २० अन्तर्गत लागू औषध मुद्दा र वन्यजन्तु संरक्षण ऐन ४०, ४९, ५० र ५१ अनुसार धारचुला कोतवालीमा मुद्दा दर्ता गरी आवश्यक कानुनी कारबाही अघि बढाइने भारतीय एसएसबीले बताएकाे छ।

प्रतिक्रिया