तस्करबाट रकम असुली गरेपछि दुई सशस्त्र प्रहरी कारबाहीमा


सर्लाही- सर्लाहीमा भारतीय तस्करबाट रकम लिँदै गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि दुई सशस्त्र प्रहरीको जिम्मेवारी खोस्दै छानबिन सुरु गरिएको छ।

छानबिनमा तानिएका अधिकारीहरू सर्लाहीको सखुवा बोर्डर आउट पोस्ट (बीओपी) का नायब निरीक्षक (सई) लेखराज बिष्ट र हवल्दार सुमन चौधरी हुन्।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार, सई बिष्टको जिम्मेवारी खोसेर उनलाई छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासमा राखेर छानबिन अघि बढाइएको छ। हवल्दार चौधरीलाई भने नं. १० गण सर्लाहीमा राखेर अनुसन्धान जारी छ।

भिडिओमा दुबै अधिकारी भारतीय तस्करलाई लाइन मिलाइदिएर २२ हजार रूपैयाँ लिँदै गरेको देखिएको छ। भिडियो ८ भदौ रातिको भए पनि बुधबार मात्र सामाजिक सञ्जालमा सार्वजनिक भएको हो।

सशस्त्र प्रहरीले यस विषयमा आन्तरिक छानबिन समेत अघि बढाएको जनाएको छ।

प्रतिक्रिया