सबै ठाउँबाट ब्लक भएपछि इ-सेवामार्फत १–१ रुपैयाँ पठाएर युवतीलाई सताएपछि…


काठमाडौं- सामाजिक सञ्जाल, मोबाइल कल, इमेल मात्र होइन, अब डिजिटल भुक्तानी सेवाको ‘रिमार्क्स’ फिचर समेत युवतीलाई हैरानी पार्ने हतियार बनेको छ।

राजधानीस्थित अस्कल क्याम्पसकी विद्यार्थीलाई निरन्तर पछ्याउँदै र हैरानी दिँदै आएको आरोपमा सुमित भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएपछि यो विषय बाहिर आएको हो।

सबै ठाउँबाट ब्लक भएपछि भट्टराईले स्मृतिलाई ई–सेवामार्फत १–१ रुपैयाँ पठाउँदै “तिमीलाई माया गर्छु”, “तिमी बाहेक कसैलाई हेर्दिनँ”, जस्ता सन्देश पठाएको प्रमाण सार्वजनिक भएपछि डिजिटल भुक्तानी प्रणालीको दुरुपयोगबारे गम्भीर प्रश्न उठेको छ।

युवतीले प्रहरी र साइबर ब्युरोमा पटक–पटक उजुरी दिँदा पनि प्रभावकारी कारबाही नभएको भन्दै सामाजिक सञ्जालमार्फत आफ्नो पीडा सार्वजनिक गरेकी थिइन्। त्यसपछि व्यापक दबाब बनेपछि मात्रै प्रहरीले  शिक्षकसमेत रहेका भट्टराईलाई नियन्त्रणमा लिएको हो।

यसअघि पनि भट्टराईले स्मृतिलाई नक्कली इन्स्टाग्राम अकाउन्ट बनाएर चरित्रहत्या गर्ने प्रयास गर्नुका साथै ७ सयभन्दा बढी मेसेज, दर्जनौँ अपरिचित नम्बरबाट फोन, घरदेखि परीक्षा केन्द्रसम्म पछ्याउने जस्ता गतिविधि गर्दै आएका थिए।

भट्टराईलाई थुनामा राखेर अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ।

प्रतिक्रिया